समाज

भूकम्पले भत्किएका २४३ सम्पदा पुनःनिर्माण अलपत्र

फाइल तस्बिर/राष्ट्रिय पुनःनिर्माण प्राधिकरण

काठमाडौं– गोरखा भूकम्पको साढे तीन वर्ष बित्दासमेत २४३ सम्पदा पुनःनिर्माणकाे काम भने सुरु हुन सकेको छैन। भूकम्पले भत्किएकामध्ये २०१ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ। भूकम्प अतिप्रभावित १४ जिल्लामा ७५३ सम्पदामा क्षति पुगेको थियो । हाल ३०९ सम्पदाको पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए। 
रानीपोखरी र बालगोपालेश्वरको काम अझै सुरु हुनसकेको छैन । हालसम्म २७ प्रतिशत सम्पदा पुनःनिर्माण सम्पन्न भएकामा चालू आर्थिक वर्षको अन्त्यसम्ममा ५० प्रतिशतको कामसक्ने प्राधिकरणको लक्ष्य छ । आर्थिक वर्ष २०७६÷७७ मा ७५ प्रतिशत सम्पदा बनाइसक्ने कार्ययोजना बनाइएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सुनाए। 
प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाका अनुसार कम प्रभावित १८ जिल्लाका ८४५ सम्पदामा क्षति पुगेको छ । ३२ वटै जिल्लाको गरी १ हजार ५९८ सम्पदा पुनःनिर्माण गर्नुपर्ने जनाइएको छ । यसमध्ये पूर्ण रुपमा क्षति भएका सम्पदा १३३ भएको अधिकृत बाँस्कोटाले जानकारी दिए।

सुरु भएन गुम्बा पुनःनिर्माण 

भूकम्पले क्षति पुगेका ८९५ गुम्बा पुनःनिर्माण गर्नुपर्नेछ। मर्मत गर्नुपर्ने गुम्बाको संख्या ४०२ छ। अहिलेसम्म कुनै पनि गुम्बाको पुनःनिर्माण नभएको जनाइएको छ । कार्यविधिमा भएको अस्पष्टताले गुम्बा पुनःनिर्माणमा ढिलाइ भएको हो। दुई हजार वर्गफिटभन्दा बढी क्षेत्रफल भएका र १०० वर्षभन्दा पुराना गुम्बा प्राधिकरणले नै बनाउनेछ । १०० वर्षभन्दा कमका गुम्बा पुनःनिर्माणका लागि प्राधिकरणले स्थानीय तहलाई ५० प्रतिशत बजेट दिने जनाएको छ। बाँकी लागत स्थानीय तह र स्थानीय गुम्बा विकास तथा व्यवस्थापन समितिले व्यहोर्नुपर्ने जनाइएको छ । भूकम्पले भत्किएका गुम्बाको पुनःनिर्माणका लागि ५ अर्ब ८५ करोड लाग्ने प्रारम्भिक अनुमान प्राधिकरणको छ । रासस

 

प्रकाशित: ११ पुस २०७५ ०८:२७ बुधबार

गोरखा_भूकम्प पुरातात्विक_एवं_सांस्कृतिक_सम्पदा पुनःनिर्माण