समाज

सात दिनसम्म छाउगोठमै बास

महिनावारी भएको सातौ दिनमा गाउँ नजिकैको खोलामा नुहाएर फर्किन लागेकी खत्याड गाउँपालिका लाम्रु गाउँकी १८ वर्षीया मंसिरा रावल। तस्बिर : सुमन/नागरिक

मुगु - मुगुकाे ग्रामीण क्षेत्रमा अहिले पनि छाउपडी प्रथा कायमै रहेको छ। जिल्लाको पश्चिम खत्याड गाउँपालिकाका अधिकाँश गाउँ बस्तीमा गैर सरकारी संस्थादेखि सरकारी क्षेत्रबाट छाउपडी प्रथा अन्त्य गर्न विभिन्न कार्यक्रम सञ्चालन गरी जनचेतनामा वृद्धि गरिएको भनिएपनि अवस्था ज्यूँको त्यूँ रहेको पाइएको छ।

खत्याड गाउँपालिकाका श्रीकोट, सेरी, गम्था लगायतका क्षेत्रमा रहेका गाउँ बस्तीहरुमा छाउपडी प्रथा न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको र अहिले ति क्षेत्रमा महिनावारी भएका महिला तथा किशोरीहरू गोठमा नबसी सुरक्षित रुपमा घर भित्रै बस्ने गरेको एक्शन वक्र्स नेपाल नामक गैर सरकारी संस्थाले दावी गरी रहँदा खत्याड गाउँपालिका तथा छायाँनाथ रारा नगरपालिकाका विभिन्न बस्तीहरूमा अहिले पनि महिनावारी भएका महिला तथा किशोरीहरू अव्यवस्थित तवरले चिसो गोठमा नै बस्न बाध्य भएका छन। 

उक्त गैर सरकारी संस्थाले खत्याड गाउँपालिका र छायाँनाथ रारा नगरपालिकाका बिभिन्न बस्तीलाई छाउगोठ मुक्त गरिएका प्रचार सामाग्री टाँसेको छ। तर ति बस्तीहरूमा नै छाउपडी प्रथा कायम रहेको छ। खत्याड गाउँपालिकाको लाम्रु गाउँमा छाउगोठ मुक्त गरिएको बताइएको छ तर त्यस गाउँमा महिनावारी हुँदा किशोरीहरू सात दिन र महिलाहरू पाँच दिनसम्म गोठमा नै बस्ने गरेका छन्। 

लाम्रु गाउँकी १८ वर्षीया मंसिरा रावल महिनावारी भएको सातौ दिनमा आफुले ओढ्ने,ओछ्याउने कपडा, खाने भाँडाकुँडा र लगाउने कपडा लिएर नजिकैको खोलामा गइन। खोलामा पुगेपछि उनले खरानी पानीले भिजाएर सबै कपडा धोइन् र नुहाएर घर फर्किन। उनले परिवारबाट तेल मागेर कपालमा लगाएपछि मात्र सात दिनपछि तातो घर भित्र पस्न पाइन। ‘गाउँलाई छाउगोठ मुक्त गरिएको भनेर के भयो त ? आखिर अहिले पनि हामीहरू महिनावारी हुँदा गोठमा नै बस्छौ’,उनले भनिन। 

महिनावारी भएको बेला चिसो गोठमा बस्नु पर्ने, देउता रिसाएर अनिष्ट हुने अन्ध विश्वासका कारण घिउँ, मह, दुध दही, खान नहुने, गाई वस्तु, फलफूलका विरुवा लगायत बस्तु समेत छुन नदिने खत्याड गाउँपालिकामा विद्यमान चलन छ।  विगतका वर्षहरूमा खत्याड गाउँपालिकाकाे पञ्चोदयो माध्यामिक विद्यालयमा अध्ययनरत अधिकांश छात्रामा बर्वराउने, काम्ने र बेहोस हुने समस्या देखिएको र त्यसको सुक्ष्म अध्ययन गर्दा महिनावारी हुने उमेरका छात्राहरु महिनावारी हुँदा चिसो गोठमा बस्ने, कपडा धुने झन्झटका कारण थोरै कपडा ओढ्ने तथा चिसोका कारण पाँचदेखि सात दिन अनिदो बस्दा कमजोर भएका कारण विद्यालयमा आउँदा उनीहरूमा त्यस्तो समस्या देखिएको अनुमान गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर कुँवरले बताए। 

नखर्जी गाउँमा अधिकाँश घरमा छाउगोठ छन्। किशोरी तथा महिला महिनावारी हुँदा उनीहरू गोठमा नै बस्ने गरेका छन्। गाउँपालिकाले महिला हिंसाको मुख्य कारण रहेको छाउपडी प्रथा अन्त्यका लागि गाउँपालिकाका सबै बस्तीहरूमा सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएपनि जनशक्ति अभाव लगायतका कारणले केही ढिलाई भइरहेको जनाएको छ। 

पहिला भन्दा अहिले यो प्रथा न्युन हुँदै गएको र पहिलो पुस्ताका अग्रजहरुलाई सम्झाउन निकै कठिन हुने गरेको खत्याड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपबहादुर कार्कीले बताए। यता छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ का टोप्ला, घुईर र पिना बस्तीलाई उक्त गैर सरकारी संस्थाले छाउगोठ मुक्त गाउँ घोषणा गरिएको भन्दै सुटुक्क होर्डिङ बोर्ड टाँसेपछि आफु चकित भएको वडा न ७ का वडाध्यक्ष हरिचन्द्र शाहीले बताए। अध्यक्ष शाहीले भने,‘कतिखेर कुन कार्यक्रम सञ्चालन गरी छाउगोठ मुक्त घोषणा गरियो मलाई थाहा छैन।’ जिल्लाका विभिन्न बस्तीहरूमा छाउपडी प्रथा न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन भइरहेको तथा केही गाउँलाई छाउगोठ मुक्त समेत गरिएको एक्सन वक्र्स मुगुका कार्यक्रम संयोजक धिरेन्द्रबहादुर शाहीले बताए।

प्रकाशित: १० पुस २०७५ ०६:४२ मंगलबार

छाउपडी_प्रथा छाउगाेठ