समाज

महिनावारीका बेला महिलालाई स्वास्थ्य सामस्यादेखि थप कामको सामना गर्नुपर्ने

काठमाडाैँ - महिनावारीका बेला महिलालाई स्वास्थ्य सामस्यादेखि थप कामको सामना गर्नुपर्ने एक सर्वेक्षणले देखाएकोे छ। यूरोपियन यूनियन र बी ग्रुपको सहयोगमा गैर सरकारी संस्था एक्सन वर्क्स नेपालले छाउपडी उन्मूलन परियोजनाका अन्तरगत मध्य तथा सुदुरपश्चिमका जुम्ला, कालिकोट र मुगु जिल्लामा गरेको सर्वेक्षणले महिनावारीका बेला महिलालाई उक्त कुराको सामना गर्नुपर्ने सर्वेक्षणले देखाएको हो। 

गैर सरकारी संस्था नेपालले सोमबार काठमाडौमां आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उक्त सर्वेक्षणा सार्वजनिक गरिएकाे थियाे।

महिनावारी भएका बेला छाउगोठमा बस्ने महिलाहरुको ज्यान जोखिममा रहनुका साथै बढी स्वास्थ्य समस्या देखिने गरेको उक्त सर्वेक्षणले देखाएको हाे। त्यस्तै उक्त सर्वेक्षणले अन्य समय भन्दा महिनावारी भएको बेला महिलाहरुलाई थप २ घण्टा काममा लगाइने गरिएको समेत देखाएको छ।

महिनावारी भएको महिलालाई छाउगोठमा छुट्टै राख्नुपर्छ, घर भित्र पस्न दिनुहुँदैन भन्ने समाज सोही समयमा थप काममा लगाउँदा भविष्यमा उनीहरुलाई गम्भीर स्वास्थ्य सामस्याको सामना गर्नु परिरहेको एक्सन वर्क्सका कार्यकारी व्यवस्थापक जगन्नाथ विष्टले बताए।

उनका अनुसार संघीय संरचना अनुसार कर्णाली प्रदेशका जुम्ला, मुगु र कालिकोटका साविक २१ गाविसमा गरेको सर्वेक्षणमा २१ प्रतिशत महिला र किशोरीमा कुनै न कुनै स्वास्थ्य समस्या हुने गरेको पाइएको छ। महिनावारीको भएको बेला महिलाका शरीरबाट रगत बग्छ। कतिलाई त पेट पनि दुख्छ। त्यसैले अन्य समयभन्दा बढी आराम गर्नुपर्छ। तर, महिनावारीको समयमा सामान्य समयमा भन्दा थप श्रम गर्नुपरेको उक्त सर्वेक्षणले देखाएको छ।

एक्सन वर्क्सका कार्यकारी व्यवस्थापक विष्टले भने, ‘महिनावारीको समयमा महिलाले घर भित्रको काम गर्न पाउँदैनन्। मल बोक्ने, दाउरा बोक्ने, बारी खन्ने लगायतका काम गर्छन्।’ उनका अनुसार ती ठाउँका महिलाले सामान्यतया दिनमा ५ घण्टाको हाराहारीमा काम गर्छन्।‘महिनावारी हुँदा थप दुई घण्टा काम गर्नुपर्ने पाइएको छ।,’ उनले भने,'ती जिल्लाका महिलाहरुमध्ये ७७ प्रतिशतले महिनावारीका समयमा घरभित्र पस्न पाउँदैनन्। भने, ९१ दशमलव ४ प्रतिशत महिलाले त भान्छामा जानै पाउँदैनन्।'

त्यस्तै वरिष्ठ पत्रकार राजेन्द्र दाहालले संचारमाध्यममा छाउगोठको विषय उठान गर्दा मानविय, स्वास्थ्य, साँस्कृतिक अन्धविश्वास, र आर्थिक लगायत पक्षमा सवालगत हिसावले उठान गरे मात्र उनीहरूकाे मानसिकतामा परिवर्तन गर्न ल्याउन सकिने बताए।

प्रकाशित: १० पुस २०७५ ०४:२४ मंगलबार

महिनावारी छाउगोठ