काठमाडौं - चार वर्षअघि सुरु गरिएको नेपाल–भारत सीमा क्षेत्रको वैज्ञानिक मापन जारी छ। एक हजार आठ सय ८० किमि लामो नेपाल–भारत सीमा क्षेत्रमा हालसम्म करिब ६ हजार सीमा स्तम्भ (पिलर) गाडिएका छन्। सीमा क्षेत्रमा आठ हजार आठ सय ५४ पिलर गाड्नुपर्ने हुन्छ।
नेपाल–भारत सीमा क्षेत्रको वैज्ञानिक मापन गर्न चार वर्षअघि गठित संयुक्त सीमा कार्यदलले हालसम्म करिब आधा मात्र काम गरेको छ। कार्यदलले नेपाल–भारत सीमा क्षेत्रमा आठ हजार पाँच सय ५४ सीमा स्तम्भ गाड्ने तयारी गरेको छ। सन् १८१६ को सुगौली सन्धि आधार मानेर हाल सीमाको वैज्ञानिक मापन गर्न सुरु गरिएको नापी विभागले जनाएको छ। यसरी सीमा मापन गर्दा नेपालले भोगचलन गरेको केही भूभाग भारततिर र भारतले भोगचलन गरेको केही भूभाग नेपालतिर आएको निष्कर्ष विभागको छ। यस वर्षको अन्त्यसम्म यसको वास्तविक तथ्यांक आउनेछ।
नापी विभागका उपमहानिर्देशक प्रकाश जोशीले सुगौली सन्धि हुँदा कायम रहेका नदी खोलाले अहिले आफ्नो बहाब (धार) परिवर्तन गरेका कारण यस्तो अवस्था देखिएको बताए। उनले भने, ‘१८१६ मा जुनजुन ठाउँमा नदी थिए, त्यसलाई आधार मानी सीमास्तम्भ राख्ने सहमति भएको छ। जसअनुसार अहिले ती नदी खोलाले धार परिवर्तन गरेका छन्।’ खोलानदीले धार परिवर्तन गर्दा नेपालका केही भूभाग भारतीयले र भारतका केही भूभाग नेपालीले भोगचलन गरिएको देखिएको उनले बताए। उनका अनुसार आफ्नो धार परिवर्तन गर्ने यस्ता नदी खोला ५४ वटा छन्। नदी खोलाले धार परिवर्तन गर्दा पनि नेपालको कुल क्षेत्रफल भने यताउता नभएको उनको भनाइ छ। उनले भने, ‘केही भूभाग यता र केही भूभाग उता गए पनि नेपालको कुल क्षेत्रफल यताउता छैन।’
सीमा क्षेत्रमा हराएका स्तम्भ जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रविधिमार्फत पत्ता लगाई पुनस्र्थापना गर्ने, नबनाइएको ठाउँमा नयाँ राख्ने, बिग्रे–भत्केको मर्मतसम्भार गरी सीमा क्षेत्रमा अतिक्रमण गरेर बसेकालाई हटाउन २०१४ जुलाईमा नेपाल–भारत संयुक्त सीमा कार्यदल गठन गरिएको थियो। कार्यदलले चार वर्ष अवधिमा नेपाल—भारत सीमा क्षेत्रमा करिब ६ हजार सीमा स्तम्भ गाडेको उपमहानिर्देशक जोशीले जानकारी गराए। उनका अनुसार अहिले नेपाल—भारतको संयुक्त टोली विभिन्न क्षेत्रमा कार्यरत छ। जसमध्ये एउटा टोली सुनसरीदेखि पूर्वइलामसम्मका लागि खटिएको छ। टोलीले सुनसरी, मोरङ, झापा र इलाममा काम गर्नेछ। अहिले यो टोली झापामा कार्यरत छ।
अर्को टोली सुनसरीदेखि चितवनसम्मका लागि खटिएको छ। यो टोली धनुषामा कार्यरत छ। यसैगरी तेस्रो टोली नवलपरासीदेखि कपिलवस्तु, बाँकेसम्मका लागि खटिएको छ। हाल सो टोली बाँकेमा कार्यरत छ। यसैगरी चौथो टोली कैलाली र कञ्चनपुरमा खटिएको छ। हाल सो टोली दुवै ठाउँमा कार्यरत रहेको नापी विभागका प्रमुख सर्भे अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी गराए। उनले भने, ‘सुस्ता र कालापानी राष्ट्रिय सरोकारको विषय भएकाले यी दुई क्षेत्रमा हामीले छोएका छैनांै।’ संयुक्त कार्यदलमा नेपालका तर्फबाट नापी विभागका सर्भे अधिकृत र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा फिल्ड सर्भे टिम कार्यरत छ।
२०३८ सालदेखि नेपाल—भारत सीमाको वैज्ञानिक मापन सुरु गरिएको थियो। यसका लागि नेपाल—भारत संयुक्त प्राविधिक टोली गठन गरिएको थियो। टोलीले सिमानामा आठ हजार पाँच सय ५४ वटा पिलर गाड्नुपर्ने निष्कर्ष निकालेको थियो। तर पछि त्यो टोली विघटन गरियो।
नेपाल–भारत सीमा क्षेत्रमा सुगौली सन्धिदेखि नै सीमा स्तम्भ राख्न सुरु गरिएको विभागका अधिकारी बताउँछन्। तर ती सीमा स्तम्भमध्ये दर्जनांै पिलर नष्ट भएका, बिग्रेका र गायब गरिएका छन्। नापी अधिकृत सापकोटाले भने, ‘केही सीमा स्तम्भमा सीमा क्षेत्रका जनताले गाई बाँध्ने किलाका रूपमा पनि प्रयोग गरिएको पाइयो।’
चीनतर्फ सय वटा पिलर
नेपाल–चीन सीमा एक हजार चार सय १४ किमि लामो सीमा छ। जसमा सय वटा पिलर राख्नुपर्ने निष्कर्ष निकालिएको नापी विभागको भनाइ छ। प्रमुख नापी अधिकृत सापकोटाका अनुसार नेपाल र चीन सीमाका ३७ औं र ३८ औं पिलर राखिएको छैन। दुईवटा पिलर भौगोलिक विकटताका कारण राख्न नसकिएको उनले जनाए। उनले भने, ‘चीनतर्फ ९८ पिलर राखिसकेका छौं, दुई वटा मात्र बाँकी छ।’ ३७ औं र ३८ औं पिलर गोरखाको ग्यालालजिङ मच्याङ हिमाली क्षेत्रमा पर्छ। त्यहाँ मान्छे पुग्न अत्यन्त कठिन रहेको सापकोटाले बताए।
प्रकाशित: १० पुस २०७५ ०१:५३ मंगलबार