समाज

कर्मचारी आन्दोलनले सेवाग्राही अलपत्र

नयाँ बस्तीका ६७ वर्षीय केशव दाहाल आइतबार कार्यालय समयमा काठमाडौं महानगरपालिका वडा ७ मित्रपार्कस्थित वडा कार्यालय पुगे। तर, कार्यालयको ढोकामा ताल्चा झुन्ड्याएको थियो। उनले यताउती हेरे। तर, कतै कर्मचारी देखेनन्। अनि निन्याउरो अनुहार लिएर घर फर्किए। ‘घरसम्बन्धी कागजपत्र मिलाउन वडा कार्यालयमा पुगेको थिएँ। तर, कार्यालय बन्द भएपछि काम भएन,’ उनले दुखेसो पोखे।

उनी मात्र होइन, सोही वडामा डेरा गरी बस्ने सोलुखुम्बुका आङनुरू शेर्पा पनि घर बनाउनका लागि सिफारिस पत्र लिन कार्यालय पुगेका थिए। तर, कार्यालय बन्द भएपछि उनी निरास थिए। ‘आज काम सकेर सोमबार घर फर्कने सोचेको थिएँ,’ उनले दुखेसो पोखे, ‘तर, काम हुन सकेन।’

यी दुई पात्र प्रतिनिधि उदाहरण हुन्, आइतबार कार्यालय पुगेका सेवाग्राही कार्यालय बन्द भएपछि निरास थिए। स्थानीय तह ट्रेड युनियनको संयुक्त आन्दोलनलेसेवा बन्द गरिएको कार्यालयमा सूचना टाँसिएको थियो। ‘स्थानीय तह ट्रेड युनियनको संयुक्त आन्दोलन परिचालन समितिबाट घोषित आन्दोलनका कार्यक्रमअनुरूप यस वडा कार्यालयका कर्मचारीहरू पनि आन्दोलनमा सहभागी भएकाले यस वडा कार्यालयको सम्पूर्ण सेवाहरू बन्द गरिएको छ,’ कार्यालयमा टाँसिएको सूचनामा उल्लेख छ।

कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन्। उनीहरूले तत्काल कार्यालय सञ्चालन गर्न माग गरेका छन्। काठमाडौं महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष शुद्धकुमार डंगोलले ट्रेड युनियनको आन्दोलनमा सबै कर्मचारी जाने भएपछि कार्यालय बन्द गर्नुपरेको स्वीकारे। ‘यसबारे सेवाग्राहीले गुनासो गरेका छन्,’ उनले भने, ‘त्यसैले सोमबारदेखि कार्यालय सञ्चालन गर्न पहल गरिरहेका छौं।’

प्रकाशित: ९ पुस २०७५ ०४:४२ सोमबार

कर्मचारी आन्दोलन