समाज

रक्षामातहतका विकास निर्माणको समीक्षा

काठमाडौं – रक्षा मन्त्रालय मातहतका विकास निर्माण आयोजनाको पहिलो चौमासिक प्रगति समीक्षा सम्पन्न भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आइतबार सम्पन्न बैठकमा नेपाली सेना र सो मातहत सञ्चालित विकास कार्यक्रम तथा आयोजनाको प्रथम चौमासिक अवधिको समग्र वित्तीय तथा भौतिक प्रगतिबारे समीक्षा गरिएको रक्षा मन्त्रालयले जनाएको छ। आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा सम्बोधन गर्नुपर्ने मुख्य विषयहरू तथा राष्ट्रिय विकास समस्या समाधान समितिको ४३औं बैठकबाट भएका निर्णयहरूको कार्यान्वयन स्थितिबारे पनि बैठकमा छलफल भएको थियो।

समीक्षामा मन्त्रालय र नेपाली सेनाअन्तर्गत सञ्चालित विभिन्न आयोजनामध्ये अधिकांशको प्रगति ८० प्रतिशतभन्दा बढी रहेको र केहीमा प्रक्रियागत कारणले प्रगति कम भएको उल्लेख गरिएको थियो। बैठकमा नेपाली सेनाबाट निर्माण भइरहेको काठमाडौं–तराईर मधेस द्रुतमार्ग सम्बन्धमा हालसम्म भएको प्रगतिलगायत नेपाली सेनाबाट निर्माण भइरहेको विभिन्न भौतिक पूर्वाधार तथा कर्णाली करिडोर बेनीघाट–कालीगण्डकी करिडोर, जाजरकोट–डोल्पा दुनै सडक आयोजनाका समस्या तथा चुनौतीबारे छलफल गरिएको थियो।

बैठकमा रक्षा सचिव विष्णुप्रसाद लम्सालले मन्त्रालय र त्यसअन्तर्गत चालू आर्थिक वर्षको प्रथम चौमासिकमा सञ्चालित आयोजनाको समग्र भौतिक र वित्तीय प्रगति सन्तोषजनक रहेको बताए। बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले पहिलो चौमासिक भएका कारण कतिपय प्रक्रियागत पक्ष मिलाउन समय लागेका कारण केही कार्यक्रमको प्रगतिमा कमी देखिएको बताए।

बैठकमा राष्ट्रिय योजना आयोगका माननीय सदस्य मीनबहादुर शाहीले समग्रमा रक्षा मन्त्रालयको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक रहे पनि बेरुजुलाई शून्य हुने गरी काम गर्न निर्देशन दिए। बैठकको अन्त्यमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले समयमै कार्यक्रम सम्पन्न गर्नेतर्फ विशेष ध्यान दिन सबै विभागीय प्रमुखहरूलाई निर्देशन दिए।

प्रकाशित: ९ पुस २०७५ ०१:३६ सोमबार

रक्षा_मन्त्रालय विकास_निर्माण नेपाली_सेना