समाज

पूर्व अधिराजकुमारी प्रेरणाद्वारा रिट दायर

काठमाडौं– पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले आफूले दाइजोमा पाएको सम्पत्ति सरकारीकरण गर्ने यसअघिको सर्वोच्च अदालतको फैसला विरुद्ध सर्वोच्चमै मुद्दा हालेकी छन्।

प्रेरणाले शुक्रबार वारेस राखेर रिट निवेदन दर्ता गराउँदै आफूले दाइजो स्वरुप पाएको सम्पत्ति आफ्नै नाममा कायम गराउन जिकिर गरेकी छन्।

तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको इजलासले प्रेरणालाई दाइजोस्वरुप दिएको काठमाडौको छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारी हुने फैसला दुइ वर्ष अघि गरेको थियो।  

तत्कालिन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणाको विवाहमा छाउनीको आवास सहितको सो जग्गा दाइजो दिएका थिए। यो जग्गा पूर्व राजा विरेन्द्रको नाममा थियो। मुलुक गणतन्त्रात्मक भएपछि पूर्व राजपरिवारको नाममा रहेको धन सम्पत्ति नेपाल ट्रष्ट मातहत राख्ने सरकारको निर्णयसँगै सम्पत्तिको खोजी गरिएको हो।  

सुशिला कार्की सहितको इजलासले सरकारीकरण गर्ने फैसला गर्नु अघि यो घर जग्गाका बारेमा पूर्वप्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्रशमशेर राणाले दाइजो पाएकाले यो घर जग्गा प्रेरणाकै नाममा हुने फैसला गरेका थिए।
प्रेरणाले शुक्रवार दायर गरेको रिटमा कार्कीले २०७३ पुस २१ गरेको फैसलाले आफू अन्यायमा परेको उल्लेख गरेकी छन्। आफ्नो मुद्दा संवैधानिक इजलासबाट फैसला हुनुपर्नेमा पूर्ण इजलासबाट गरिएको प्रति पनि आपत्ति जनाएकी छन्। दुई वर्ष अघिको फैसलालाई अाधार मान्दै घर कम्पाउन्ड खाली गर्न ताकेता भएपछि उनले सर्वोच्च विरुद्ध मुद्दा दर्ता गर्दै अन्तिम फैसला नभएसम्म घर खाली गर्न चालिएका सबै काम रोक्न अन्तरिम आदेश पनि माग गरेकि छन्।

प्रकाशित: ६ पुस २०७५ ११:१९ शुक्रबार

पूर्व_अधिराजकुमारी प्रेरणा_राज्यलक्ष्मी_सिंह दाइजो सम्पत्ति_सरकारीकरण