समाज

खानेपानीका लागि महायज्ञबाट ७५ लाख संकलन

ललितपुर - काष्ठमण्डप–विष्णुडोल खानेपानी आयोजनाको क्षमता बढाउनका लागि महालक्ष्मी नगरपालिका—८, बिष्णुडोलमा आयोजना गरिएको विराट ज्ञान धान्याचल महायज्ञमा ७५ लाख रुपैयाँ संकलन भएको छ। महालक्ष्मी मात्र नभई वरपरका नगरपालिका, जिल्ला र विदेशमा रहेका नेपालीले समेत दान गरेका आयोजक कमिटिका अध्यक्ष कुबेर केसीले बताए।

महायज्ञमा सबैभन्दा बढी विष्णुडोल, चारघरे र सिमथलीका बासिन्दाले दान गरे। लुभु, लामाटार, सिद्धिपुर, टिकाथली, इमाडोललगायत स्थानबाट पनि उल्लेख्य संख्यामा उपस्थिति रहेको आयोजक कमिटिका सचिव विवेककुमार कार्कीले जानकारी दिए। ‘सबै मिलेर पवित्र कार्य गर्दा सबैको साथले सफलता मिल्छ भन्ने प्रमाणित भएको छ,’ उनले भने । दान गर्नेमा वृद्धवृद्धाको उल्लेख्य सहभागिता थियो। स्थानीय श्यामबहादुर खत्री, रामप्यारी बस्नेत, शेरबहादुर खत्रीलगायत वृद्धवृद्धाले ठूलो राशि दान गरे।

सात जनाले एक लाखभन्दा बढी दान गरेका छन्। अमेरिका बस्दै आएका चारघरे निवासी राम खड्का र अप्सरा खड्काले एक लाख एक रुपैयाँ दान गरे। उनीहरूले हजुरबुवा पदमबहादुर खड्का तथा हजुरआमा झलककुमारी खड्काको सम्झनामा दान गरेका हुन्। अमेरिकाको बोस्टनमा बस्दै आएका विनोद थापा र नीता ताम्राकार थापाले पनि एक लाख दान गरे। उनीहरूका तर्फबाट बुबा लक्ष्मण थापा र आमा कमला थापाले सम्मान लिएका थिए। यसैगरी अमेरिका बस्दै आएका बिष्णुडोलका कुन्दन पोखरेलले पनि दान गरे।

महायज्ञमा संकलन भएको रकम खानेपानी अभिवृद्धिका लागि विष्णुडोल खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको आयोजक कमिटीका अध्यक्ष केसीले बताए। खानेपानी समितिका अध्यक्ष लक्ष्मण कार्कीले उपभोक्ताको हित ख्याल गर्दै खानेपानी जस्तो पवित्र कार्यमा रकम सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गरे।

महायज्ञको शुभारम्भ मंसिर २५ गते पूर्वराष्ट्रपति डा. रामवरण यादवले गरेका थिए। मंसिर २६ गते सुरु भएको महायज्ञ पुस ३ गतेसम्म चलेको थियो। महायज्ञमा सांसद, पूर्वसांसद, पूर्वमन्त्री, नेपाल सरकारका उच्चअधिकारी, सुरक्षा निकायका उच्चअधिकारी, उद्योगी, व्यवसायी, पेशाकर्मी, शैक्षिक संघसंस्थालगायतले दान गरेका थिए। 

 

प्रकाशित: ५ पुस २०७५ १५:११ बिहीबार

महायज्ञ