समाज

घुस सहित सहायक वन अधिकृत पक्राउ

म्याग्दी - डिभिजन वन कार्यालय म्याग्दीका एक अधिकृत घुससहित रंगेहात पक्राउ परेका छन्। बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको आवसागृहको पुजा कोठामा काठ सम्बन्धी मुद्दा मिलाइदिने भन्दै उनले सेवाग्राहीबाट रकम लिँदै गर्दा सहायक वन अधिकृत राजकुमार ठाकुरलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराकाे टाेलीले नियन्त्रणमा लिएकाे हाे।

अख्तियारले उनलाइ ३४ हजार घुस सहित पक्राउ गरेको हो। विगत आधादशक देखि वन कार्यालयमा कार्यरत ठाकुरले सेवाका नाममा पटकपटक सेवाग्राहीबाट घुस लिने गरेको गुनासो आउने गरेपनि आवश्यक प्रमाणको अभावमा बच्दै आएका थिए। वन कार्यालयमा परेका विभिन्न मुद्दालाई आधार बनाएर सेवाग्राहीलाई सताउने गरेका ठाकुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि पोखरा लगिएको छ।

नेपाल कम्युनिष्ट (नेकपा) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता प्रकाश पौडेल र युवा नगेन्द्र जिसीको सुचनाका आधारमा अख्तियारको टोली बेनी आएको थियो। जिल्ला प्रहरी कार्यालय म्याग्दीले अवैध रुपमा बरामद गरेको काठ आवश्यक अनुसन्धानका लागि डिभिजन कार्यालयलाई जिम्मा लगाएपछि सहायक अधिकृत ठाकुरले मुद्दा मिलाउन मोटो रकम माग गरेको पीडितको भनाई उद्धृत गदैं यूवा नेता पौडेलले भने। उनले कार्यालय भित्रका कर्मचारीले समेत विगतमा विभिन्न वहनामा सेवाग्राहीलाई त्रसित बनाउने गरेका थिए। केही हप्ता अगाडी विद्यार्थी नेता पौडेल सहितका युवाहरुले भ्रष्टाचार र घुसखोरी विरुद्धको अभियान सञ्चालन गरेको घोषणा गरेका थिए।

डिभिजन वन कार्यालयका कर्मचारीले समेत काम गरेबापतको रकम सहायक अधिकृत ठाकुरले प्रयोग गर्ने गरेको बताए। कार्यालयबाट जडिबुटी, काठ, विभिन्न प्रजातिका विरुवा, टिम्मुर निकासीमा समेत सेवाग्राहीलाई अतिरिक्त शुल्क लिने गरिएको गुनासो आउने गरेको भन्दै थप अनुसन्धानको माग गरिएको छ। यता प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सेवाग्राहीलाई अतिरिक्त शुल्क लिने, घुस माग्ने कर्मचारीको सुचना दिन पटकपटक अनुरोध गरिएको बताए। उनले सरकारी सेवामा अनावश्यक तनाव दिने कर्मचारीलाई कारबाही गरिने बताए। 

 

प्रकाशित: ५ पुस २०७५ १४:१८ बिहीबार

डिभिजन_वन_कार्यालय घुस