समाज

खोटो संकलनले उदयपुरको जंगल उजाडिदै, ६३ हजार सल्लाका रुख ताछियो

तस्बिर : महेश्वर/नागरिक

उदयपुर - उदयपुरका विभिन्न सामुदायिक वन उपभोक्ता समूह (सावउस) मा सल्लाको खोटो निकाल्ने क्रम बढेपछि जिल्लाको वन उजाडिने खतरा बढेको छ। बिगत ४ वर्षयता जिल्लाका विभिन्न स्थानीयतहका जंगलबाट निरन्तर खोटो संकलन कार्य जारी रहँदा वन उजाडिने खतरा बढेकाे हाे।

जिल्लाका रौतामाई, ताप्ली र लिमचुङबुङ गाउँपालिकाका डेढदर्जन बढी सावउसका जंगलबाट सल्लाको खोटो निकाल्ने क्रम ०७१ को सुरुवातदेखि जारी छ। रुखको बोक्रा ताछेर खोटो निकाल्ने क्रमले सल्ला मर्दै गएको र केहीवर्षसम्म यो क्रम कायम रहे सल्लेनी वन उजाडिने स्थानीय बताउँछन्। अहिले रौतामाई, ताप्ली र लिमचुङबुङका वनक्षेत्रमा कुनै  सल्लाका रुख चोखो देख्न नपाएकोमा स्थानीय दुःखी छन्।

खोटो निकाल्न सबैभन्दा बढी रौतामाई गाउँपालिकाका रुख ताछिएका छन्। रौतामाई ३ लाफागाउँ, २ भुट्टार, ४ पोखरी र आँपटारभित्रका सावउसबाट खोटो निकाल्न सल्लाका बोक्रा ताछ्दै निरन्तर खोटो संकलन भईरहेको छ।

खोटो निकाल्न सबैभन्दा बढी रौतामाई गाउँपालिकाका रुख ताछिएका छन्। रौतामाई ३ लाफागाउँ, २ भुट्टार, ४ पोखरी र आँपटारभित्रका सावउसबाट खोटो निकाल्न सल्लाका बोक्रा ताछ्दै निरन्तर खोटो संकलन भईरहेको छ। ताप्ली गाउँपालिका ४ ठानागाउँ, ३ इनामे र ५ ओख्लेका अधिकांश जंगलका सल्लाको पनि बोक्रा ताछिएका छन्। खोटो संकलनले विस्तारै रुख मर्ने र दाउरासमेत नबल्ने स्थानीयहरु बताउँछन्। स्थानीय ढुंगराज विकका अनुसार खोटो निकालेपछि रुख मर्ने र त्यसको काठसम्म काम नलाग्ने हुन्छ।

केहीवर्षअघि पुरै जंगल हरियाल भएपनि खोटो निकाल्न थालेपछि उजाडिदै गएको अर्का स्थानीय कटक सुबेदीले बताए। जता हेर्यो बोक्रा ताछेको रुख मात्रै देख्दा विरक्त लाग्ने उनले बताए। गाउँका अगुवालाई सोध्दा सरकारकै आदेश अनुसार संकलन भइरहेकाे जवाफ आउने गरेको उनले बताए। यसरी खोटो संकलन हुने हाे भने आउँदो ५/१० वर्षभित्र सबै सल्ला लोप हुने हो कि भन्ने त्रास बढेको उनले बताए।

ठानागाउँ, इनामे, ओख्ले, बाराहा, बलम्ता, लाफागाउँ र मालबासेका कुनै सल्लाका रुख सद्दे नरहेको स्थानीय बताउँछन्। ‘बाल्यकालमा घाँस गोठाला गर्दा सल्लीपिर (सल्लाको पात) मा साथीहरुसँग चिप्लेटी खेलेको याद ताजै छ, तर, आजकाल सल्लीपिर देख्न छाडिसक्यो’ लाफागाउँका खिलराज राईले भने, 'यस्तै चाला हो भने केहीवर्षभित्रै सल्ला नामेट हुने खतरा छ।'

डिभिजन वन कार्यालय कटारीका प्रमुख दानबहादुर श्रेष्ठले सबै कानुनी आधार पुरा गरेरै खोटो संकलन आदेश दिइएको बताए। आगोबाट बचाउन सके १० वर्षमा पुरानो घाउ पुरिएर फेरि खोटो निकाल्न मिल्ने वैज्ञानिक कारण रहेको श्रेष्ठले सुनाए।

लिमचुङबुङका बाराहा र बलम्ताका २ सावउसबाट पनि खोटो निकाल्ने काम भइरहेको छ। रौतामाईका सावउसका त प्रत्येक रुखका बोक्रा खोटो निकाल्न ताछेको पाइएको छ। डिभिजन वनका अनुसार पनि सबभन्दा बढी खोटो संकलन रौतामाई ३ लाफागाउँबाटै भइरहेको छ। रौतामाई ३ का ७ वटा सामुदायिक वनबाट खोटो निकालिदैछ भने २ को एउटा र ४ का २ वटा सावउसले खोटो निकाल्न अनुमति दिएका छन्।

रौतामाई ३ को कौशिका सावउसबाट ३ हजार ६ सय ७५ रुखबाट ६ हजार ४ सय ५० किलो खोटो निकाल्ने गरी ०७४ पुस २३ गते सम्झौता भएको अभिलेख डिभिजन वन कार्यालय कटारीसँग छ। ३ नं. कै पाकाना सावउसबाट ४ हजार ९ सय ७२ रुखबाट १३ हजार १ सय ९० किलो निकाल्ने सम्झौता सोही मितिमा भएको छ भने अर्को नवउदय सावउसका १ हजार ७ सय ७५ रुखबाट ५ हजार ३ सय २५ किलो खोटो निकाल्न ०७३ पुस २९ गते सम्झौता भएको छ। रसुवाखोला सावउसबाट १ हजार ७ सय ८९ वटा रुखबाट ५ हजार ८ सय १० किलो खोटो निकाल्ने काम भईरहेको छ। त्यसका लागि ०७४ पुस २३ गते सम्झौता भएको छ।

३ नं. कै सिर्जनसिलबाट १ हजार ९ सय ९० वटा रुखमा खोटो निकालिदैछ। ६ हजार ७ सय २० किलो खोटो निकाल्न ०७४ मंसिर २४ गते सम्झौता भएको छ। महाकाल सावउसका २ हजार ४ सय २० रुखबाट ८ हजार  ५० किलो खोटो निकाल्न ०७४ पुस १० गते सम्झौता भएको डिभिजनले जनाएको छ। रौतामाई ३ कै रानीबास सावउसबाट २ हजार ७ सय १६ वटा रुखबाट ८ हजार ८ सय २० किलो खोटो निकाल्न ०७४ मंसिर २९ गते सम्झौता भएको छ।

डिभिजनका अनुसार रौतामाईकै ४ स्थित भगवती सावउसका ८ हजार ३ सय २ वटा सल्लाका रुखबाट २९ हजार १ सय २० किलो खोटो निकाल्ने क्रम जारी छ। ०७४ पुस २३ गते सम्झौता भए अनुसार सल्लाका बोक्रा ताछेर घाउ बनाइएको छ। ४ कै मालबासे सावउसका ५ हजार २० रुखबाट १७ हजार ७ सय ७६ किलो खोटो निकालिदैछ। जसका लागि ०७३ भदौ १४ गते सम्झौता भएको डिभिजनले जनाएको छ।

उता ताप्ली गाउँपालिका अन्तर्गत सल्लेरी सावउस इनामेका २ हजार ७ सय ५०  रुखमा घाउ पारिएको छ। त्यहाँबाट ९ हजार ५ सय ९८ किलो खोटो निकाल्न ०७४ पुस २३ गते सम्झौता भएको हो। ताप्लीकै ओख्लेस्थित पञ्चावती हरियाली सावउसबाट १ हजार ५ सय ८१ रुखबाट खोटो निकालिदैछ। ०७२ फागुन १६ गते भएको सम्झौताले त्यहाँबाट ४ हजार ७ सय १२ किलो खोटो निकाल्न अनुमति पाएको छ। जनएकता सावउस ठानागाउँबाट ८ हजार १ सय ३१ रुखमा खोटो निकाल्न घाउ बनाइएको छ। त्यहाँबाट २८ हजार ४ सय २९ किलो खोटो निस्कने छ। सम्झौता भने ०७१ जेठ २५ गते भएको थियो।

लिमचुङबुङ ३ बाराहास्थित जनज्योति तीनतले सावउसका २ हजार ७० रुखमा कोतारिएको छ। ८ हजार २ सय ८० किलो खोटो निकाल्नलाई ०७४ पुस २२ गते सम्झौता भएको जनाइएको छ। लिमचुङबुङ १ बाँसबोटेस्थित लालपुर भालुखोला सावउसका २ हजार ७ सय ४० वटा रुखबाट १० हजार १ सय ६० किलो खोटो निकाल्ने क्रम चलिरहेको छ।  त्यसका लागि कम्पनी र समूहबीच ०७४ पुस १८ गते सम्झौता भएको थियो। लिमचुङबुङ २ बलम्तास्थित लालीगुराँस सावउसका ६ हजार ७ सय ५९ रुखको बोक्रा ताछिएको छ। २० हजार २ सय ७८ किलो खोटो निकाल्न ०७३ पुस १८ गते सम्झौता भएको हो।

ताप्ली गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले स्थानीय जनप्रतिनिधि निर्वाचित हुनुअघि नै खोटो निकाल्ने सम्झौता भएकाले केही गर्न नसकिएको बताए। उनले ५ वर्षका लागि सम्झौता भएको पाइएकाले त्यो सम्झौतापछि सावउससँग छलफल गरेर वन नीति बनाई अघि बढ्ने बताए। खोटो निकाल्दा फरक नपर्ने भनिए पनि डढेलो लाग्यो भने सबै वन सखाप हुने हुनाले गाउँपालिकाले वन जोगाउने नीति लिएको थापाको भनाई छ।

सरकारी स्वामित्वको ‘नेपाल रोजिन एण्ड टर्पेन्टाईन लिमिटेड’ लाई भाडामा लिएर ‘दिव्या रोजिन एण्ड टर्पेन्टाईन प्रालि’ ले खोटो संकलन गरिरहेको हो। वीरगञ्जमा मुख्य कार्यालय र विराटनगरमा शाखा रहेको कम्पनीले उदयपुरबाहेक खोटाङ, ओखलढुंगा र सोलुखुम्बु तथा पूर्वका विभिन्न पहाडी जिल्लाबाट खोटो संकलन भैरहेकाे प्रालिका प्रतिनिधि मणिराज कोईरालाले बताए। उनका अनुसार खोटो निकाल्दैमा सल्लाको रुखलाई केही फरक पर्दैन तर, आगोबाट बचाउनुपर्छ। एउटा रुखबाट १० वर्षसम्म निरन्तर खोटो निकाल्न सकिने तर, आगोले भेटेमा रुखै मर्ने संभावना हुने कोईरालाले बताए। ‘खोटो निकाल्दैमा रुख केही हुँदैन, आगोबाट बचाउनुपर्छ’ कोईरालाले वैज्ञानिक कारण सुनाए ‘खोटो बल्ने पदार्थ भएकाले आगो लाग्यो भने सोझै घाउमा आगो पसेर रुख मर्छ।’ आगोबाट बचाउन सावउसमा हेरालु राखिदिएको तथा डढेलोबाट बचाउन तालिम र वृक्षारोपण गर्ने गरेको कोईरालाले बताए।

डिभिजन वन कार्यालय कटारीका प्रमुख दानबहादुर श्रेष्ठले सबै कानुनी आधार पुरा गरेरै खोटो संकलन आदेश दिइएको बताए। आगोबाट बचाउन सके १० वर्षमा पुरानो घाउ पुरिएर फेरि खोटो निकाल्न मिल्ने वैज्ञानिक कारण रहेको श्रेष्ठले सुनाए। उनका अनुसार नेपाल मात्र होईन, भारत, चीनमा पनि सल्लालाई खोटो संकलनकै लागि प्रयोग गर्ने गरिएको छ। राज्यकै नीति अनुसार कानुनी प्रक्रिया पुरा गरेर अनुमति लिएपछि कम्पनीले खोटाे निकाल्न थालेको श्रेष्ठले बताए।

विभिन्न मितिमा भएको सम्झौता अनुसार दिव्या रोजिन प्रालिले ०७१ जेठ २५ गतेदेखि ०७४ पुस २३ गतेसम्म गरेको सम्झौता अनुसार उदयपुरबाट २० लाख ४ हजार ९ सय १६ किलो खोटो संकलन गर्नेछ। जसका लागि प्रालिले ६३ हजारभन्दा बढी रुख वन कार्यालयमार्फत अनुमति लिएर मार्किङ गरी खोटो संकलन गरिरहेकाे छ। प्रालिले २४ लाख ५८ हजार ९ सय ९२ रुपैयाँ सावउसलाई राजश्व तिर्ने तथा मूल्य अभिबृद्धि कर (भ्याट) वापत ३ लाख १९ हजार ६ सय ६९ रुपैयाँ बुझाउनुपर्ने डिभिजन प्रमुख श्रेष्ठले बताए।

विभिन्न काममा प्रयोग हुने तारपिन तेल र पेन्ट गर्ने रंग बनाउन कच्चा पदार्थको रुपमा खोटो प्रयोग हुने गरेको छ। खोटो निकालेवापत कम्पनीले सावउसलाई प्रतिकिलो १२ रुपैयाँ राजश्व र त्यसको १३ प्रतिशत भ्याट सरकारलाई तिर्नुपर्ने प्रावधान श्रेष्ठले सुनाए।  वन उजाड हुन्छ भन्ने स्थानीयको आरोप सत्य नभएको भन्दै नियमित अनुगमन र नियमन गर्ने काम वन कार्यालयबाट भईरहेको उनले बताए। 

प्रकाशित: ४ पुस २०७५ ०७:२९ बुधबार

उदयपुर खोटो_संकलन सल्ला जंगल