समाज

नागरिकता किर्तेको आरोपमा सहायक सिडियो सहित ८ जना विरुद्ध मुद्धा, पाँच सरकारी कर्मचारी

पाँचथर – बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका– २ इम्बुङबाट प्रहरीले कार्तिक तेस्रो हप्ता एक व्याक्तिलाई पक्राउ गर्यो। नागरिकताका आधारमा गौरब नेम्बाङको नाममा उक्त व्याक्ति प्रक्राउ परे। प्रहरीले उनको नागरिकतामाथि शंका गर्यो। यही शंकाका आधारमा प्रहरीले घरमा छापा मार्दा थप दुई नागरिकता फेला परे।

किर्ते गरी नागरिकता गरेको खुलेपछि प्रहरीको अनुसन्धान थप मोडियो। देवेन्द्र शिवा असली नाम भएपनि अन्य थप दुई नामबाट पनि नागरिकता बनाएको खुल्न आयो। थर तथा जात नै फेरीने गरी नागरिकता बनाएको खुलेपछि प्रहरीले अनुसन्धान अघि बढायो। शिवा बलात्कार प्रयासको अभियोगमा जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन्।

यता नागरिकता किर्तेको अरोपमा नागरिकतामा हस्ताक्षर गर्ने तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी, फायल बढाउने फाटवाला, सिफारीस गर्ने सचिव, सनाखतमा नागरिकता प्रयोग भएको व्याक्ति सहित ८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्धा अघि बढाइएको छ। नागरिकता किर्तेमा हँदैसम्मको सजायको माग गरेर ८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्धा पेश गरिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए।

नेम्बाङको नाममा नागरिकता बनाउन संलग्न भएको आरोपमा शिवा सहित  तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी केशव रिजाल, फाटवाला प्रकाश अधिकारी र राजकुमार न्यौपाने, सचिव सुरेश सुवेदी र रमेश ताम्ली, सनाखतमा नागरिकता प्रयोग भएका दुर्गाभक्त नेम्वाङ, दुर्गभक्तको नाममा सनाखत गर्ने राजेन्द्र नेम्बाङविरुद्ध मुद्धा अघि बढेको हो। यि मध्ये शिवा र दुर्गभक्त प्रक्राउ परिसकेका छन्।

सुरुमा सहायक प्रमुख जिल्ला अधिकारी र २ सविचविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। पछि थप दुई कर्मचारीसमेत तानिएका हुन। सरकारी कर्मचारी पक्राउ परेका छैनन्। अदालतमा हाजिर हुने किसिमको तयारी भएको बुझिएको छ। उनीहरूविरुद्ध नागरिकता ऐन अनुसार मुद्धा अघि बढाइएको छ। सुरुमा आमाको नामबाट सनाखत गर्न खोजिएको र पछि आमाको नाम मेटेर बाबुको नाम लेखिएको समेत खुल्न आएको छ। लाहुरे हुने रहरमा यसो गरेको हुन सक्ने आशंका छ।

३ वटा नागरिकता बनाएका शिवाले अन्तिम पल्ट २०७२ सालमा नागरिकता बनाउँदाका क्रममा रहेका सम्बन्धित क्षेत्रका कर्मचारी छानविनको दायरमा परेका हुन। अन्तिम मितिमा बनाइएको नागरिकता, नागरिकता सिफारीस, मुजुल्कादेखि जिल्ला प्रशासनमा सनाखतसम्म आइपुग्दा राम्रै ‘सेटिङ’ भएको हुन सक्ने आशंका भएको थियो। घटनाक्रम हेर्दा गाविस सचिवले असोज–२९ गते सिफारीस गरेपनि कार्तिक २९ गते सनाखत भएको खुल्न आएको थियो। तर नागरिकता भने फाल्गुन–१८ गतेमात्र जारी भएको देखिन्छ। समयक्रम फरक परेकाले कैफियत हुन सक्ने आशंकाले प्रहरीले मुद्धा अगाडि बढाएको छ। विभिन्न कोणबाट अनुसन्धान गरी मुद्धा अदालतमा लगिएको कुँवरले जानकारी दिए।

प्रहरीको अनुसन्धानको क्रममा सो व्यक्तिबाट तीनवटा नागरिकता, राहदानी तथा नक्कली शैक्षिक कागजात फेलपरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। देवेन्द्र शिवा, अंकित शिवा र गौरब लिम्बुको नाममा नागरिकता लिएको खुल्न आएको थियो। अंकित शिवाको नाममा नागरिकता टोली मार्फत २०७० सालमा नागरिकता लिएको देखिन्छ। कानुनी व्यवस्था अनुसार उक्त नागरिकता रद्ध गर्नका लागि जिल्ला प्रशासनमा पठाइएको जानकारी दिइएको छ।

सनाखत गर्ने बाबु धनराज शिवा सहित जिल्ला प्रशासनमा पठाइएको हो। पत्र पाएकाले नियमत प्रक्रिया अघि बढाउने प्रमुख जिल्ला अधिकारी  प्रकाशचन्द्र अधिकारीले बताए। देवेन्द्रको नाममा भने २०६३ सालमा नागरिकता बनाएको पाइएको छ। यसैगरी  पब्लिक हाइस्कुल धरानबाट एसएलसी पास गरेको नक्कली प्रमाणपत्र समेत बनाएको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ पुस २०७५ ०६:२४ बुधबार

नागरिकता किर्ते सहायक_सिडियो सरकारी_कर्मचारी मुद्धा