समाज

तस्करको आक्रमणबाट तीन प्रहरी घाइते

वीरगन्ज – भारतीय तस्करहरूले पर्साको जगरनाथपुर गाउपालिका–१, पाडेपुरस्थित प्रहरी चौकीका इन्चार्जसहित तीन प्रहरीलाई कुटपिट गरी घाइते बनाएका छन्। पर्सा जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूले मंगलबार राति चौकीका इन्चार्ज, प्रहरी सहायक निरीक्षक बिसुनदेव यादवसहित तीन प्रहरीलाई कुटपिट गरेका हुन्। सीमावर्ती पाडेपुर गाउँबाट तस्करी गरी पेट्रोल र डिजेल भारततर्फ लैजान लागेका बेला रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि नै आक्रमण गरेका हुन्।

मोटरसाइकलमा राखेर प्रट्रोल र डिजेल भारतको सीमावर्ती बजार इनर्वातर्फ लाँदै गरेका बेला पाडेपुरका प्रहरी सहायक निरीक्षक यादवको नेतृत्वमा रहेको गस्ती टोलीले तस्करहरूलाई नियन्त्रणमा लिन खोजेको थियो। त्यस क्रममा प्रहरीमाथि आक्रमण भएको हो।
‘नेपालबाट डिजेल र पेट्रोल तस्करी गरी लैजान लागेका थिए, प्रहीले रोक्न खोजेको थियो, त्यस क्रममा तस्करहरूले आक्रमण गरी हाम्रा तीन प्रहीलाई घाइते बनाएका छन्,’ पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘एक जनाको अवस्था गम्भीर भएपछि उपचारका लागि काठमाडौं पठाइएको छ। तस्करहरू बढी संख्यामा थिए।’

तस्करको आक्रमणले प्रहरी जवान अर्जुन चौधरीको टाउकोमा चोट लागेको र उनको अवस्था गम्भीर भएकाले काठमाडौंस्थित न्युरो अस्पतालमा लगिएको प्रहरी उपरीक्षक ढकालले बताए। यसैगरी उनीहरूको आक्रमणबाट चौधरीसहित प्रहरी सहायक निरीक्षक यादव र प्रहरी हवल्दार प्रेमबहादुर राणा घाइते भएका छन्। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय (पर्सा)ले जनाएको छ। नेपाल–भारत दुवैतर्फका तस्करहरूको संलग्नता रहेकाले उनीहरूलाई पक्राउ गर्न खोजतलास सुरु गरिएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।

प्रकाशित: ४ पुस २०७५ ०१:३६ बुधबार

तस्कर कुटपिट घाइते प्रहरी