समाज

चिसोमा अत्यधिक प्रदूषण

काठमाडौं- पुस सुरू भएसँगै काठमाडौंलगायत देशभर चिसो ह्वात्तै बढेको छ। सामान्य व्यक्तिका लागि चिसो निकै कष्टकर हुन्छ नै। तर चिसोसँगै बढ्ने प्रदूषण मानव स्वास्थ्यका लागि अत्यन्त घातक हुने वातारणविद्हरू बताउँछन्। चिसोयाम त्यसमा पनि बादल लागेको बेला प्रदूषणको मात्रा निकै खतरनाक हुने उनीहरूको भनाइ छ।

चिसो बढेका बेला विशेषगरी बिहान र बेलुका हावामा हुने प्रदूषण बढ्ने गर्छ। चिसोमा धुलोका मसिना कणहरू (पिएम टु प्वाइन्ट फाइभ) जमिनमै टाँसिएर बस्ने गर्छन् तर गर्मीयाममा भने हावाको बहावसँगै धुलाका मसिना कणहरू पनि उड्ने गर्छन्। गर्मीयामभन्दा चिसोयाममा हावाको बहाव कम हुन्छ। ‘चिसोमा हावाको बहाव कम हुने भएकाले गर्मी यामभन्दा चिसो याममा प्रदूषणको जोखिम अत्यधक बढी हुन्छ।’ वातावरणवीद् तथा वातावरण विभागका शंकरप्रसाद पौडेलले भने, ‘गर्मीयाममा भने हावाको बहावसँगै मसिना धुलाका कणहरू उड्ने गर्छन्।’

शीतलहर चलेको बेला प्रदूषणको जोखिम झनै बढ्ने वातावरणविद्हरू बताउँछन्। यसैगरी, वरिपरि पहाडले घेरिएको काठमाडौंजस्तो खाल्डो परेको ठाउँमा चिसोयाममा धुलाका मसिना कणहरू गुम्सिएरै हावाभित्र रहिरहने पौडेलको भनाइ छ। वातावरणविद्हरू प्रदूषणका लागि गर्मीयामभन्दा वर्षायाम झन् उपयुक्त हुने बताउँछन्। वातावरण विभागका अनुसार चिसो बढेको बेला काठमाडौंको रत्नपार्कमा राखिएको वायु गुणस्तर मापन केन्द्रको रेकर्डमा प्रदूषणको मात्रा बढेर १ सय ३६ माइक्रोगाम प्रतिघनमिटर पुगेको रेकर्ड छ। तर वर्षायाममा यो मात्रा निकै कम हुन्छ। वर्षायाममा कुनै बेला २० भन्दा कम माइक्रोग्राम प्रतिघनमिटर भएको रेकर्ड विभागसँग छ। पौडेले भने, ‘चीसो याममा १ सय ३६ माइक्रोग्राम प्रतिघनमिटरसम्म प्रदूषणको मात्रा बढ्छ तर वर्षायाममा ह्वात्तै घटेर २० सम्म आउँछ।’

चिसोयाम त्यसमा पनि बादल लागेको र पानी नपरेको बेला प्रदुषणको जोखिम झनै बढ्ने उनी बताउँछन्। गर्मीयाममा भने तापक्रम बढेसँगै मसिना धुलाका कणहरू हावामा फैलन्छन् र माथितिर बगेर जान्छन्। वातावरण विभागले काठमाडौंका नौ ठाउँमा वायु प्रदूषण मापन केन्द्र राखेको छ। यसैगरी, काठमाडौ बाहिर बारा, नेपालगन्ज, दाङ, सुनसरी, पोखरा प्रमुख सहरमा पनि यस्ता स्टेसन राखिेएका छन्। जसमध्ये पाँच ठाउका स्टेशन बिगे्रर काम नगरेको विभागको भनाइ छ। वातावरणीय दृष्टिकोणबाट काठमाडौंपछि नेपालगन्ज, लुम्बिनी र दाङ अति प्रदूषित सहर हुन्।

मंगलबार साँझबाट बादल हट्ने

काठमाडौंलगायत मध्यपहाडी क्षेत्रममा देखिएको बादल सोमबार अपराह्नदेखि हट्न सुरू गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसमविद् मञ्जु बासीले भनिन्, ‘काठमाडौंमा देखिएको बादल सोमबार साँझ अधिकांश हट्छ। मंगलबार बिहानसम्म भने देशभर बादल पूर्ण रूपमा हिटसक्छ।’ यो अवधिमा पहाडी र उच्च भूभागममा हल्का पानी पर्ने सम्भावना रहेको पनि उनले जनाइन्। उनले भनिन्, ‘तर यो वर्षा सामान्य हुनेछ। फाट्टफुट्ट केही ठाउँमा पानी पर्न सक्छ,’
बंगालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात (साइकोलिन) को प्रभावले काठमाडौंलगायत नेपालका धेरैजसो भूभागमा मौसम बदली हुनुका साथै केही ठाउँमा सामान्य वर्षा र केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बंगालको खाडीको चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा सोमबार र मंगलबार देशका पूर्वी र मध्यक्षेत्रमा सामान्यदेखि पूर्णतया बदली हुने जनाइएको छ। यसैगरी, केही भागमा हल्का वर्षा हुने र उच्च हिमाली भागहरूमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रमा आंशिक बदली भई हल्का र क्षणिक वर्षा हुने सम्भावना रहेको मौसमविद् बासीले भनिन्।

सोमबार बिहानैदेखि काठमाडौंमा चिसो बढेको छ। सोमबार बिहान ५ बजेर ४५ मिनेटमा गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ पुगेको महाशाखाले जनाएको छ। केही दिनयता काठमाडौंको तापक्रम हरेक दिन घट्दै गइरहेको छ। जसका कारण काठमाडौमा निरन्तर चिसो बढिरहेको छ।

प्रकाशित: ३ पुस २०७५ ०१:३६ मंगलबार

चिसो प्रदूषण