समाज

नयाँ वर्ष पछि चीनले साततले दरवारको पुनर्निर्माण थाल्ने

नुवाकोट - बाहिरी जिल्लाका पर्यटक नुवाकोट प्रवेश गरेपछि साततले दरवार नपुगी के फर्किनु भन्छन् र जान्छन्।दरवारको ढोका अगाडी नै लेखिएको छ ‘भूकम्पबाट क्षतीग्रस्त भएको यस साततले दरवार को विस्तृत अध्ययन अनुसन्धान सहित पुनर्निर्माणको क्रममा रहेको र हाल वर्षातको पानीले गर्दा दरवारको माथिल्लो भागबाट झिगटी, इट्टा, काठ खसेर चोटपटक लाग्ने धेरै सम्भावना हुँदा दरवार परिसरको वरीपरी हिडडुल गर्दा थप सतर्कता अपनाइदिनुहुन अनुरोध गरिन्छ।’

स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय नुवाकोटद्वारा लेखिएको याे वाक्यांश देखेपछि त्यहाँ पुगेकाहरुको मन अमिलो भएर आउँछ। भूकम्प जानु अघि दरवारको सातौँ तलासम्म नै पुगेर सम्झना स्वरुप फोटो खिच्दै पर्यटक रमाउने गर्थे तर अहिले टेकोले अड्याइएको दरवार नजिक गएर हेर्न समेत कठिन हुन्छ।

मंसिर महिनाको तेस्रो साता काम विशेषले नुवाकोट सदरमुकाम विदुर आएका थिए पत्रकार लिलप्रकाश चन्द। विदुर आइसकेपछि दरवार पुगिएन भने त मज्जा हुन्न भन्दै पुगे दरवार परिसर। ठिङ्ग उभिएको दरवार हेर्दै उनले सोधे, “दरवारभित्र जान मिल्दैन र?” तर विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पले दरवारमा क्षती पुगेपछि सुरक्षालाई मध्यनजर गर्दै दरवारभित्र जान निषेध गरिएको जानकारी लिएर अव नयाँ बनेपछि जाउँला भन्ने आशा बोकेर उनी फर्किएका थिए।

जिल्लाको धरोहरको रुपमा परिचित साततले दरवारको पुनर्निर्माण छिट्टै भएको हेर्न चाहन्छन् यहाँका नागरिकहरु तर काम थालनी गर्ने मिति सरिरहेको छ। दरवार निर्माणको जिम्मा चीन सरकारले लिएको छ। नेपालका लागि चिनियाँ राजदूत यू होङ सहितको उच्च अधिकारीहरु, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमका नेपालका लागि राष्ट्रिय निर्देशक रेनाउड मेयेर सहितको टोली  गएको जेठ महिनाको अन्तिम साता दरवारको बनावटको अवलोकन गर्न आइपुगेका थिए।  त्यो बेलामा असोज महिनाभित्र पुनर्निर्माणको कार्य थाल्ने जानकारी आएको थियो।  दरवार निर्माण गर्नलाई आवश्यक पर्ने कामदार स्थानीय स्तरमा नै उत्पादन गर्ने उद्देश्यले पुरातत्व विभागको आयोजनामा असोज महिनामा सात दिन कालीगढलार्इ तालिम दिइएको थियो। कालीगढ तालिमको बेलामा छठ पर्व पछि काम सुरु हुन्छ भनेर स्थानीयहरुलाई  जानकारी गराइएको थियो तर अहिलेसम्म अत्तोपत्तो छैन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक शुसिल ज्ञवालीले आइतबार दरवारको अवलोकन गरी फागुन महिनापछि काम सुरु हुने बताएका छन्। दरवारको पुनर्निर्माणको जिम्मा लिएको चीन सरकारले दरवारको पुनर्निर्माणको लागि आन्तरिक तयारी सुरु गरि सकेको र ठेकेदार छनौट प्रकृयालाई अगाडी बढाइरहेको उनले बताए। “दरवारकाे पुनर्निर्माण कसरी अगाडी बढाउने भनेर चिनियाँ पक्ष आएर विस्तृत जानकारी यस अघि नै लिइसकेकाे छ। तयारी तिव्र गतिमा अघि बढिरहेको छ। म यहाँको वस्तुस्थिति बुझ्न नि आएको हुँ”, ज्ञवालीले भने, “चीन सरकारले नयाँ वर्ष सके पछि दरवार पूनर्निर्माण गर्ने जानकारी दिएको छ। काम सुरु भए पछि २ वर्ष भित्रमा दरवारको पुनर्निर्माण सकाउने प्रयत्न गर्नेछौँ।”

पहिलो चरणमा साततले दरबार र त्यस पछी तलेजु भवानीको मन्दिर, गारद घर, रङ्गमहल, लामपाटी र सेतो पाटीको निर्माण चिन सरकारले नै गर्ने सम्झौता भैसकेको उनले बताए। दरबारको अवलोकन गर्दै उनले पहिलाकै अवस्थामा रहने गरि पुनर्निर्माण गर्ने जानकारी दिए।

नेपाल एकीकरणको समयमा राजा पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको दरबार त्यो समयमा ९ तलाको रहेको र ९० सालको भूकम्पले क्षति पुगेपछि त्यसलाई मर्मत गरी सात तला बनाइएको थियो। नुवाकोटको साततले दरबारको रुपमा परिचित रहेको दरबारलाई साढे तीन वर्ष अघि गएको विनासकारी भूकम्पले क्षति पुर्याएकाे थियाे।

प्रकाशित: २ पुस २०७५ १२:२८ सोमबार

नुवाकोट साततले_दरवार