समाज

जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माण शुरु

म्याग्दी - म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोतस्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरको पुनःनिर्माण शुरु भएको छ। 

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मन्दिर पुनःनिर्माणकार्यको शुक्रबार शिलन्यास गर्नुभयो। १६आँै शताब्दीमा तत्कालीन राजाले निर्माण गरेको मन्दिर विसं २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो। 

सरकारी निकाय र समुदायबाट आर्थिक सहयोग जुटाएर पुनःनिर्माण शुरु गरिएको वडाध्यक्ष कलानिधि सुवेदीले बताउनुभयो। करीब रु ८० लाख लागत अनुमान गरिएको मन्दिर पुनःनिर्माणका लागि स्थानीयवासी र प्रवासीबाट हालसम्म रु २९ लाख सहयोग घोषणा भएको छ। 

कार्यक्रममा मन्त्री र सांसद भुपेन्द्रबहादुर थापाद्वयले पुनःनिर्माणका लागि सरकारको तर्फबाट बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका हुन्र। सरकारले धार्मिक, पर्यटकीय, ऐतिहासिकस्थलको संरक्षण र प्रवद्र्धनको माध्यमबाट पर्यटन विकास गर्ने योजना बनाएको उनीहरुको भनाइ थियो। 

पुरातत्व विभागबाट अनुमति लिएर उसले स्वीकृत गरेको डिजाइनअनुसार ऐतिहासिक महत्वका हातहतियार, मूर्ति, भाँडाकुँडा रहेको जगन्नाथ मन्दिरको भित्री संरचना र स्वरुपलाई यथावत राखेर जीर्णोद्धार गरिने गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए।

कोत घरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन्। सुरुङ, छेलोको खत, ओखल, गस्तीस्थल, पर्खाल, इँटा, बङ्कर, ओदान, मन्दिर, मूर्ति, फलामको छाता, माटाको शङ्ख, खानी, तामाका खड्कुला, कोइलाटा, गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाहा स्वरुपको ढुङ्गालगायत सामग्री छन्। 

ताकमकोत म्याग्दीको प्रमुख शक्तिपीठ मानिन्छ। समुन्द्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट बाइसे÷चौबीसे राज्यका पालामा थापा राजाले २०० वर्षसम्म राज्य सञ्चालन गरेको इतिहास छ। 

यहाँबाट गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ। मन्दिरमा जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेको पुजारी गोविन्द पौडेलले बताए।

पुजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा पूजाआजा र भाकल गरी बली चढाउन भक्तजनको घुइँचो लाग्ने गर्छ। (रासस)

प्रकाशित: २९ मंसिर २०७५ ०६:३४ शनिबार

जगन्नाथ–अन्नपूर्ण_मन्दिर धार्मिक धवलागिरि पर्यटकीय