समाज

घरमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु

दाङ – दाङको बंगलाचुलीमा गएराती एउटा घरमा घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका वडा नम्बर ८ गुराँसेका नवराज पुनको घरमा आगलागी  भएको हो। 

पुनका ७ बर्षिय छोरा कृष्णवहादुर पुन, छोरी अस्मिता पुन र अर्कि छोरी अन्जु पुनको आगलागीमा परी मृत्यु भएको प्रहरीले जनाएको छ।  डिएसपी रामप्रसाद घर्तीको टोली घटनास्थल तर्फ लागेको छ। प्रहरीका अनुसार उक्त घरमा सोलार पड्कीएर आगलागी भएको हो। घरमुली नवराजकी श्रीमती धामी कहाँ गएको बेला घरमा आगलागी भएको र उनिहरुका तीन छोरा छोरी घरमै रहेकाले आगलागीमा परी मृत्यु भएको प्रहरीले जनाएको छ। गएरातीमा परी पशुचौपाया समेत मरेका छन्।  

यस्तै तुलसीपुर स्थित एक ट्रेडर्समा भिषण आगलागी भएको छ। तुलसीपुर ५ मा स्थित अरनिको खेलमैदान नजिकै भिमप्रसाद घिमिरेले सन्चालनमा ल्याएको अन्नपूर्ण ट्रेडर्समा शुक्रवार विहान साढे ६ वजेतिर आगलागी भएको हो। आगलागीबाट पसलमा स्टोर गरेर राखिएका जुत्ता, चप्पल, कपडा लगाएत ठूलो परिमाणका सामान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उक्त ट्रेडर्समा थुप्रै सामानहरु स्टोर गरेर राखिएको थियो। 

ट्रेडर्स रहेको तीन तले घरका सबै तलामा राखिएका सामान जलेका छन्। क्षेतिको एकिन विवरण भने आईसकेको छैन। आगलागीको एकिन कारण खुलि नसकेको भएपनि विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। विहान साढे ६ वजेतिर लागेको आगो दमकल, नेपाली सेना,प्रहरी लगाएतको सहायतामा ९ वजेतिर नियन्त्रणमा आएको थियो।

प्रकाशित: २८ मंसिर २०७५ ०४:०० शुक्रबार

आगलागी बालबालिका मृत्यु