समाज

इटहरीमा भीषण आगलागी, २ करोडको नोक्सानी

इटहरी- सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान भीषण आगलागी हुँदा दुई करोड रूपैयाँभन्दा बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ।

बिहान ४ बजे उद्योगको काम बन्द भएको र मजदूर नभएको अवस्थामा एकाएक डोरमेट बनाउने उद्योगको तयारी वस्तु गोदाम क्षेत्रबाट आगो फैलिएको प्रहरीले जनाएकाे छ। उद्योगी भानु टिवडेवालको उक्त उद्योगका प्रबन्धक शङ्कर ठाकुरका अनुसार आगलागीमा उद्योगका तयारी डोरमेट कच्चा पदार्थ र महत्वपूर्ण मेशिनमा समेत ठूलो नोक्सानी भएको छ। आगो लागेको केही समयमै इटहरीको वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसमेतको ठूलो उपस्थितिमा नियन्त्रण प्रयास भएको थियो।

तत्काल धरान, इनरुवा, विराटनगर, दुहवी र सुन्दरहरैँचाको वारुणयन्त्रसमेत उद्योगको आगो नियन्त्रणमा आइपुगेकाले उद्योगमा अरु ठूलो नोक्सानी हुन नपाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए। उद्योगमा के कारणले आगो लागेको हो भन्ने यकिन नभएको र नोक्सानीका विषयमा सोधखोज र यकिन तथ्याङ्क लिने कार्य भइरहेको पनि उनले बताए । रासस

प्रकाशित: २५ मंसिर २०७५ ०६:०४ मंगलबार

भीषण_आगलागी उद्योग नोक्सानी