समाज

कर्मचारी सामाजिक सञ्जालमा व्यस्त

काठमाडौं - सरकारी तथा सार्वजनिक निकायमा कार्यरत अधिकांश कर्मचारीले आफ्नो आचरण पालना नगरेको पाइएको छ। सरकारी तथा सार्वजनिक निकायका कर्मचारी कार्यालय समयमै उपस्थित हुँदैनन् र उपस्थित भए पनि तोकिएको पोसाक लगाउँदैनन्।

प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले हालै विभिन्न सरकारी तथा सार्वजनिक निकायमा गरेको छड्के अनुगमनका क्रममा यस्तो पाइएको हो।

केन्द्रले काठमाडौं उपत्यकामा रहेका नगरपालिका र अन्य सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा गरेको अनुगमनमा कर्मचारीहरू पदीय आचरणविपरीत कार्यालय समय पालना नगर्ने, सरकारले निर्धारण गरेको पोसाक नलगाउने, कार्यालय समयमा सामाजिक सञ्जालमा व्यस्त रहने, कार्यालयको कम्प्युटरमा गेम खेल्नेलगायतको कार्य गरेको भेटिएको अनुगमनमा संलग्न अधिकारीहरूले बताए।

अनुगमनमा कर्मचारीले कार्यालय समय पालना नगर्ने, सरकारले निर्धारण गरेको पोसाक नलगाउने, सामाजिक सञ्जालमा व्यस्त रहने, कम्प्युटरमा गेम खेल्ने गरेको पाइयो।

ती अधिकारीका अनुसार केन्द्रले उपत्यकाका एक सय ३१ वटा कार्यालयमा गरेको अनुगमनमा प्रायः कार्यालयमा कर्मचारीले समय पालना नगर्ने र तोकिएको पोसाक नलगाएको पाइयो। केन्द्रले उपत्यकामा रहेका नगरपालिकाका कार्यालयसहित प्रत्येक स्थानीय तहका तीनतीनवटा वडा कार्यालय केन्द्रित रहेर गरेको अनुगमनमा समय पालना नगर्ने, पोसाक नलगाउने मात्र नभई केही वडा कार्यालयले नागरिक बडापत्रसमेत नराखेको पाइएको छ।

अनुगमन गरिएका नगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरको गोदावरी नगरपालिका र त्यसअन्तर्गतको वडा कार्यालयमा कार्यरत ३८ जना कर्मचारीले समय पालना नगरेको भेटिएको हो। अनुगमनका क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका र त्यसअन्तर्गतका वडा कार्यालयमा कार्यरत १७ जना कर्मचारीले समय पालना नगरेको र पाँचजनाले निर्धारित पोसाक नलगाएको फेला पारिएको छ। कागेश्वरी मनोहरा नगरपालिका र मातहतका वडा कार्यालयमा कार्यरत ३० जना कर्मचारी कार्यालय समयमा कार्यालयमा थिएनन्।

सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा कर्मचारी नबस्ने, सरकारले तोकेको पोसाक नलगाउने, सेवा प्रवाहमा ढिलासुस्ती गर्ने, सार्वजनिक सम्पत्ति दुरुपयोग गर्नेलगायतका व्यापक जनगुनासो आउन थालेपछि राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक सेवा प्रवाह गर्ने र सेवाग्राहीको भीडभाड हुने निकायलाई केन्द्रित गरेर छड्के अनुगमन तीव्र पारेको छ।

अनुगमनका क्रममा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा २८ जना, समाजकल्याण परिषद्मा २१ जना, नेपाल टेलिकममा चारजना, नेपाल वायुसेवा निगममा दुईजना कर्मचारीले समय पालना नगरेको पाइएको हो। त्यस्तै दुग्ध विकास संस्थानमा चारजना, गोश्वारा हुलाक कार्यालयमा तीनजना, मालपोत कार्यालय डिल्लीबजारमा दुईजना, नापी कार्यालय चाबहिलमा तीनजना कर्मचारीले कार्यालय समय पालना नगरेको पनि भेटिएको छ।

केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले पदीय आचरणविपरीत काम गर्ने कर्मचारीलाई आवश्यक कारबाही गरी प्रतिवेदन पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताए। लामिछानेले केन्द्रको मुख्य कामै सार्वजनिक निकायबाट हुने अनियमितता, ढिलासुस्ती, भ्रष्टाचारका सम्बन्धमा उजुरी संकलन गर्ने, विभिन्न सरकारी कार्यालयमा हाजिरी, पोसाक, सिट छड्के जस्ता सुधारात्मक कार्य गर्नु रहेको बताए। सार्वजनिक निकायबाट प्रदान गरिने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन अनुगमन गरी सुझाव तथा निर्देशन दिने लगायत रहेकाले अनुगमन तीव्र पारिएको उनले स्पष्ट पारे।

लामिछानेले सिंहदबारभित्र रहेका विभिन्न मन्त्रालयमा कार्यरत उच्च पदस्थ कर्मचारी कार्यालय समय पालना नगर्ने, तोकिएको पोसाक नलगाउने, कार्यालय समयमा बाहिरको काम गर्नेलगायतका गुनासा आउन थालेकाले ती निकायमा पनि छड्के अनुगमन गर्ने तयारी भइरहेको बताए। उनले अब नियमित रुपमा छड्के अनुगमन गर्ने पनि स्पष्ट पारे।

निजामती कर्मचारीले कार्यालय समयमा कार्यालयको कामका लागि निर्धारित स्थानमा रहेर कार्यालयको काममात्र गर्नुपर्ने छ भन्ने व्यस्थाका सही रुपमा पालना नभएको पाइएको उनले बताए। उनले भने, ‘यो व्यस्थाको सही ढंगले पालना गराउन र निजामती कर्मचारीलाई सचेत गर्न केन्द्रले नियमित अनुगमन गर्छ।’ कर्मचारीले आचरण पूर्ण रुपमा पालना गर्नुपर्ने पनि उनको भनाइ छ।

कर्मचारीले कार्यालयको प्रयोजनका लागि रहेको स्रोतसाधन तथा सुविधा व्यक्तिगत प्रयोजन र फाइदाका लागि प्रयोग गरेको सुनिएकाले त्यसको पनि नियमित अनुगमन गर्ने तयारी गरिएको पनि लामिछानेले बताए।

केन्द्रले काठमाडौंका कीर्तिपुर, तारकेश्वर, टोखा, चन्द्रागिरी नागार्जुन, कागेश्वरी मनोहरा, शंखरापुर, गोकर्णेश्वर बूढानीलकण्ठ नगरपालिका र त्यसअन्तर्गतका केही वडा कार्यालयमा अनुगमन गरेको थियो। त्यस्तै ललितपुरको गोदावरी, महालक्ष्मी नगरपालिका तथा भक्तपुरको चाँगुनारायण, भक्तपुर सूर्यविनायक र मध्यपुर नगरपालिकासहित विभिन्न एक सय ३१ सार्वजनिक निकायमा छड्के अनुगमन गरेको हो।

अनुगमनका क्रममा तीन सय ६८ जनाले समय पालना नगरेको र एक सय ६२ जनाले निर्धारण गरेको पोसाक नलगाएको भेटिएको राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता लामिछानेले बताए।

निजामती सेवाका कर्मचारी आचरणसम्बन्धी नियमावली, २०६५ को नियम ११ मा निजामती कर्मचारीले कार्यालयमा रहँदा आफ्नो परिचयपत्र सबैले देख्न सक्ने गरी लगाउनुपर्नेछ भन्ने व्यस्था छ। तर, त्यो व्यवस्था अधिकांश कर्मचारीले पालना गर्न अटेरी गरेको अनुगमनका क्रममा पाइएको पनि लामिछानेको दाबी छ। त्यस्तै उक्त नियमावलीमा ‘कुनै कार्यालयका निजामती कर्मचारीका लागि पोसाक निर्धारण गरिएकोमा त्यस्तो कार्यालयमा रहँदा तथा कार्यालयका तर्फबाट प्रतिनिधित्व गर्दा त्यस्तो पोसाक लगाउनुपर्नेछ’ भन्ने कुरा स्पष्ट उल्लेख छ।

नियम १४ मा निजामती कर्मचारीले आफूलाई सुम्पिएको जिम्मेवारी छिटोछरितो, पूर्ण र गुणस्तरीय रुपमा निर्वाह गर्न सदा प्रयत्नशील रहनुपर्ने भनिएको छ। तर, सार्वजनिक निकायले सेवा प्रवाह गर्दा नागरिकलाई झन्भट दिने र आर्थिक लाभको अपेक्षा राख्ने गरेको पाइएको छ।

प्रकाशित: २४ मंसिर २०७५ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App