समाज

तेस्रो लिंगी खुलाएर नागरिकता दिनुपर्ने

काठमाडौं – तेस्रो लिंगीलाई अन्यमा नराखीकन लिंग खुलाएर नागरिकताको प्रमाणपत्र दिनुपर्ने माग गरिएको छ। राज्य व्यवस्था समितिले शुक्रबार सरोकारवालासँग गरेको छलफलमा यस्तो माग भएको हो। छलफलमा निलहिरा समाजका अध्यक्ष पिंकी गुरुङले अन्यका पछाडि तेस्रो लिंगी पुरुष वा तेस्रो लिंगी महिला वा समलिंगी महिला वा समलिंगी पुरुष उल्लेख गर्नुपर्ने बताए।

आफूहरुलाई अन्यमा राखी नागरिकता दिँदा विभिन्न समस्या झेल्नुपरेको भन्दै लिंग खुलाएर नागरिकता दिनुपर्ने व्यवस्था गरिनुपर्ने उनको माग थियो। यसैगरी, गोर्खा पूर्वसैनिक र उनीहरूका सन्तानलाई राजनीतिक अधिकारसहितको नागरिकता दिनुपर्ने माग गोर्खा पूर्वसैनिक संघका अध्यक्ष कृष्णकुमार राईले राखे। बेलायती सेनामा काम गरेका पूर्वसैनिकहरु त्रिदेशीय सम्झौताबाट त्यहाँ पुगेका कारण राज्यले यसबारे सोच्नुपर्ने उनको भनाइ थियो। उनले गोर्खा पूर्वसैनिकका सन्तानलाई बंशजको नागरिकता दिनुपर्ने माग पनि गरे। अहिले बेलायतमा २० हजार र हङकङमा ४५ हजार गोर्खा पूर्वसैनिक छन्।

गोर्खा पूर्वसैनिक संघका मणिकिराँत वान्तवाले एनआरएनको हिसाबले पूर्वगोर्खा सैनिकलाई हेर्न नमिल्ने बताए। गोर्खा पूर्वसैनिक संघकी जिल्ला सभापति सुनिता गुरुङले बेलायतमा रहेका पूर्वसैनिकका छोराछोरीलाई नेपालको नागरिकता दिँदा समस्या पर्ने भएकाले यसबारे ध्यान दिनुपर्ने बताइन्। उनले भन्,ि ‘बेलायतमा जन्मनेबित्तिकै रातो पासपोर्ट दिन्छ। नेपाल आउनुपर्दा बाबु नेपालको पासपोर्ट र छोराछोरी बेलायतको पासपोर्टले आउनुपर्ने अवस्था छ। नयाँ सन्ततीले नेपालमा आएर लगानी गर्न वा बस्न चाहे सरकारले सुविधा दिने व्यवस्था गर्नुपर्ने उनले बताइन्।

समितिले गैरआवासीय नेपाली नागरिकसँग पनि छलफल गर्ने जनाएको छ। नेपाल नागरिकता ऐन २०६३ बमोजिम जन्मका आधारमा हालसम्म कति नागरिकता प्रमाणपत्र वितरण गरियो त्यसको विवरण दिन समितिले गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय लिएको छ।

प्रकाशित: २२ मंसिर २०७५ ०२:१४ शनिबार

तेस्रो_लिंगी नागरिकता