समाज

घरमै नागरिकता

तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत - वीरेन्द्रनगर–७ इत्रामकी ९६ वर्षीया बृद्धा बसुन्धरा आचार्य हिँडडुल गर्न सक्दिनन्। खानदेखि शौचालय जानसम्म उनलाई सहयोगीको आवश्यकता पर्छ। केही महिनाअघि आचार्यको नागरिकता हरायो। नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्तालगायतका सरकारी सेवाबाट बञ्चित हुनुपर्‍यो।

शुक्रबार जिल्ला प्रशासन कार्यालयको टोली घरमै नागरिकता पुर्‍याउन जाँदा उनी निक्कै खुशी देखिन्थिन्। ‘अव फेरि बृद्धभत्ता पाउने भएँ’ नागरिकता पाएपछि खुसी हुँदै आचार्यले भनिन्, ‘पाँच महिनादेखिको बृद्धभत्ता पाएकी छैन्।’ बुढ्यौलीका कारण उनलाई धेरै कुराहरु याद छैन्। ‘विहान उठेदेखि नसुत्दासम्म बृद्धभत्ता पाइन भन्दै गुनासो गर्नुहुन्थ्यो’ आचार्यकी जेठी छोरी इन्द्रा केसीले भनिन्, ‘अव नागरिकता पाएपछि गुनासो समाधान भयो।’

आचार्य जेठीछोरी इन्द्राको सहारामा छिन्। नागरिकता हराएपछि बृद्ध भत्ता पाउनबाट बञ्चित आचार्यको प्रतिलिपि बनाउन नातिनीज्वाई हरि बस्नेतले सहयोग गरे। उनी वडा कार्यालयको सिफारिससहित बिहीबार जिल्ला प्रशासन कार्यालय पुगे। ‘त्यहाँ मैले नागरिकताको प्रतिलिपि बनाउन हजुरआमा आउन नसक्ने बताएँ’ उनले भने, ‘उहाँहरु आज आफै आएर नागरिकता वितरण गर्नुभयो।’

प्रशासकीय अधिकृत उत्तम शर्माले घरघरमै सार्वजनिक सेवा दिने सरकारको नीति अनुसार नागरिकता वितरण गरिएको बताए। ‘प्रशासन कार्यालयसम्म पुग्न नसक्ने जेष्ठ नागरिक, शारिरिक अपाङ्गता भएकाहरुलाई घरमै पुगेर सेवा दिनुपर्ने सरकारी नीति छ’ नागरिकता वितरण गर्दै उनले भने, ‘सोही नीति अनुसार घरमै पुगेर नागरिकता दिएका हौं।’

 

प्रकाशित: २१ मंसिर २०७५ ११:४२ शुक्रबार

वीरेन्द्रनगर नागरिकता