समाज

नगरपालिकाद्वारा तीन क्विन्टल प्लाष्टिकका झोला नष्ट

पाल्पा - पाल्पा जिल्ला सदरमुकाम तानसेन बजारमा निषेधित प्लाष्टिकजन्य झोला ठूलो परिमाणमा बरामद गरी नष्ट गरिएको छ। पछिल्लो समय तानसेन बजार भित्र नै प्लाष्टिकजन्य झोलाको प्रयोग जथाभावि भेटिएपछि नगर प्रहरीको सहायतमा बरामद गरी नष्ट गरिएको हो।

प्लाष्टिक मुक्त सहर तानसेन बजारलाई सार्थक बनाउन बजार क्षेत्रमा प्लाष्टिकजन्य झोला पूर्णरुपमा बन्देज लगाइएकोेले प्लाष्टिकका झोला नियन्त्रणमा लिइएको तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले बताए। तानसेन नगर प्रहरी प्रमुख जयप्रकाश उप्रेतिले तानपा–१ को मिशन, ६ को बतुङ्ग र ७ को प्रभास क्षेत्रबाट जफत गरिएको प्लाष्टिक नष्ट गरिएको बताए। करीब तीन क्विन्टल प्लाष्टिकजन्य झोला नष्ट गरिएको उनले बताए। तानसेन बजारमा प्लाष्टिजन्य झोला खुलेयाम विक्रि वितरण गरिएको भेटिएमा निरन्तर बरामद गरी कारबाही गरिने उप्रेतिले बताए।

प्लाष्टीकजन्य झोलाको बढ्दो प्रयोगले वातावारणीय असन्तुलन हुने नगरपालिकाका फोहोरमैला शाखा प्रमुख शंकर भण्डारीले बताए। उनले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउने सामाग्री कुनै पनि वहानामा नगरमा बिक्रि तथा प्रयोग हुन नदिने बताए। नगरपालिकाका वन तथा वातावरण व्यवस्थापन संयोजक भिमबहादुर कुमालले तानसेन बजारलाई २०७० साल जेठ २२ गते प्लाष्टिक झोल मुक्त सहर घोषणा गरी नियमित अनुगमनको सुरुवात गरिएको बताए। 

 

प्रकाशित: २१ मंसिर २०७५ १०:१६ शुक्रबार

पाल्पा तानसेन प्लाष्टिजन्य_झोला