समाज

कालोपत्रे माग गर्दैे सडक अवरुद्ध

दोलखा - कालोपत्रे माग गर्दै दोलखा सदरमुकाम चरिकोट स्थित तामाकोसी बाईपास सडक क्षेत्रका बासिन्दाले शुक्रबार सडक अवरुद्ध पारेका छन्। कालोपत्रे माग गर्दै सडक क्षेत्रका बासिन्दाले शुक्रबार बिहानै देखी सडक ठप्प पारेका हुन्। उनिहरुले तामाकोसी सहित उत्तरी क्षेत्रका विभिन्न विकासे आयोजनाका सामान बोकेर हिडेका मालवाहक गाडीहरुलाई बाटोमै रोकेका छन्।

दोलखाको उत्तरी लामावगरमा निर्माण हुँदै गरेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका उपकरण बोक्ने ठुला टेलरहरु आउजाउ गर्न सदरमुकाम चरिकोट बजार भन्दा तल्लो क्षेत्र अनाथालयबाट तिखातल जोडिने गरी बाईपास सडक बनाइएको थियो। सडकमा निरन्तर पानी हाल्ने र आयोजना सकिने बेलामा सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाइएपनि उक्त प्रतिबद्धता पुरा नभएका कारण आन्दोलनमा उत्रनु परेको बाईपास सडक सरोकार समितिका संयोजक लिलाबहादुर केसीले जानकारी दिए। स्थानीयले जिल्लाभरका सडक आयोजनाहरु सरकारले विस्तार गरेर कालोपत्रे गरेपनि यो सडक तामाकोसी आयोजनाले बनाएको भन्ने नाममा स्थानीय र प्रदेश सरकारले वेवास्ता गरेको गुनासो गरे।

प्रकाशित: २१ मंसिर २०७५ ०९:४५ शुक्रबार

दोलखा सडक_अवरुद्ध