समाज

रावलको बयानपछि थप दुई पक्राउ

काठमाडौं – निर्मला पन्तको हत्या प्रकरण छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणमा लिएका प्रदीप रावलको बयानका आधारमा कञ्चनपुबाट दुई जनालाई पक्राउ गरी काठमाडौं ल्याइएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ का १७ वर्षीय दिनेश चौधरी र विश्वास चौधरीलाई पक्राउ गरी काठमाडौं ल्याइएको हो। प्रहरीले उनीहरुका अभिभावकलाई पनि सँगै ल्याएको छ।

रावललाई चार दिनअघि नियन्त्रणमा लिइएको हो। मंगलबार उनको डिएनए परीक्षण गर्न दिइएको छ। रावलको डिएनए परीक्षण रिपार्ट आएको छैन। रावललाई पक्राउ गरेपछि सिआइबीमा प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल आफैं बयान लिन पुगेका थिए। आइजिपीपछि सिआइबी प्रमुख डिआइजी निरज शाही, डिएसपी कविता कट्वाल र अनुपमशमशेर जबराले रावलको बयान लिएका थिए। बिहीबार दिउँसो सिआइबी प्रमुख शाही आफैंले बयान लिएका थिए। उनीसँग थप बयान लिन थालिएको सिआइबी स्रोतले जनाएको छ। रावल शंकास्पद देखिएपछि गृह मन्त्रालयले छानबिनका लागि बनाउने भनेको विशेषज्ञ टोली तत्काल नबनाउने भएको छ।

लागूऔषध दुव्र्यसनी भएकाले रावलाई चुरोट तान्न दिएर बयान लिने गरिएको छ। स्रोतका अनुसार चुरोट नतानेसम्म उनी बोल्न सक्दैनन्। सिआइबीको चमेनागृह पछाडि लगेर उनलाई चुरोट तान्न दिइन्छ। रावलको मानसिक अवस्था जाँच्न उनलाई नेपाली अक्षर कदेखि ज्ञसम्म पढ्न र लेख्न लगाइएको छ। त्यस्तै घर र घरवेटी पनि लेख्न लगाइएको थियो।

प्रकाशित: २१ मंसिर २०७५ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App