समाज

छड्केमा गएका विद्युत् कर्मचारीमाथि कुटपिट

लहान - विद्युत् चुहावट नियन्त्रण गर्न छड्केमा निस्केकाे  विद्युत् प्राधिकरणका कर्मचारीमाथि स्थानीयले कुटपिट गरेका छन्। सिरहा नगरपालिका–१३ स्थित गम्हरीया फूलबरीया पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीमाथि स्थानीयले कुटपिट गरेका हुन्।

विद्युत् चोरी नियन्त्रण गर्न गए राति पुगेको टोलीलाई देख्ने बित्तिकै भेला भएका स्थानीवासीले विद्युत् प्राधिकरणका सिनियर मिटर रिडर कामेश्वर कुसियैत र सहायक अरुण यादवमाथि कुटपिट गरेका हुन्। फूलबरीया गमहरियाको एक घरमा मिटर वाइपास गरी चुहावट गरिरहेको सूचनाको आधारमा छड्केमा पुगेको विद्युत् कर्मचारीमाथि कुटपिट गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका प्रमुख अवधेशकुमार दुवेले जानकारी दिए।

स्थानीयवासी पवितर यादव, घुरन यादव, श्याम ठाकुरलगायतको समूहले कुटपिट गरेको घाइते कर्मचारीले बताएका छन्। घाइते अरुणलाई सिरहा अस्पतालमा उपचारपछि घर फर्काइएको छ। सिनियर मिटर रिडर कुसियैतको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार भइरहेको नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख दुवेले जानकारी दिए। कुटपिट गर्नेविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ। रासस

प्रकाशित: २० मंसिर २०७५ १०:३६ बिहीबार

विद्युत्_प्राधिकरण कुटपिट