समाज

महिला आफ्नै घरमा मृत फेलाः श्रीमान विदेशमा, २ वर्षीया नाबालिकाको विचल्ली

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेकी सम्झना राई आफ्नै घरमा मृत फेला परेकी छन्। श्रीमान बिदेशमा गएपछि २ वर्षकी छोरीसँग बसिरहेकी राई सोमबार आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन। घुँडाले जमिन छोएको, जमिनमा रगत खसेको, दायाँ कुममा रगत पोतिएको, दिशा–पिसाव नदेखिएको, हातका पञ्जा मुठी नपरेको अवस्थामा मृतकको शव फेला परेपछि आफन्तले उनको मृत्युलाई शंकास्पद मानेका छन्। घटना प्रकृति हेर्दा आत्महत्या नभै हत्या गरेको अनुमान गरिएको मृतककी काका पार्जुन राईले बताए। 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी माईती घर भएका राईको मृत्यु संकास्पद भएको भन्दै मंगलबार मृतकका आफन्तले मानव अधिकारकर्मी र पत्रकारको रोहबरमा मात्र पोष्टमार्टम गर्नुपर्ने माग राखेका थिए। मृतकको शव पोष्टमार्टमपछि माईतीपक्षले जिम्मा लिएका छन् । मृतकका श्रीमान बैदेशिक रोजगारीका सिलसिलामा १९ महिनादेखि साउदीअरबमा छन्। शंकास्पद अवस्थामा शव फेला परेको भन्दै आफन्तले छानबिन गरी कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बताएका छन्। लालनपालन गर्ने आमाको मृत्यु भएपछि नाबालिकाको बिचल्नी भएको छ। 

महिलाको आत्महत्या वा हत्या भएको विषय मृतकको पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने भएकाले पोष्टमार्टम रिपोर्टपछि मात्र आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। 

प्रकाशित: १८ मंसिर २०७५ १५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App