समाज

अब पोलिथिनबाट पेट्रोल, नास्टले काम थाल्दै

काठमाडौं – नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले कन्काई नगरपालिकामा पोलिथिनका झोलाबाट पेट्रोलियम पदार्थ निकाल्ने भएको छ । तीन वर्ष अघि गरिएको अध्ययन सफल भएपछि नास्टले नमूनाका रुपमा पहिलो पटक नगरपालिकामा यो प्रविधि शुरु गर्न लागेको जनाइएको छ।

 नगरपालिकाले आर्थिक पाटो हेर्ने र आफूहरूले प्राविधिक सहयोग उपलब्ध गराउने नास्टका प्रविधि सङ्कायका प्रमुुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए। ‘यहाँ पेट्रोल उतपादन सुरु भएपछि फोहोर व्यवस्थापनका लागि अरु नगरपालिका पनि यसमा आकर्षित हुन सक्छन्,’ उनले भने।

सो कार्यका लागि नगरपालिका आफैँले उपकरण खरीद गर्नेभन्दा पनि ठेक्का सम्झौतामार्फत अरुलाई दिन नास्टले सल्लाह दिइरहेको छ । ‘स्थानीय सरकार आफैँले व्यवसाय गर्दा असफल भएको देखिएकाले हामीले ठेक्का सम्झौतामा जान भनेका हौं,’ उनले भने। 

देशभरमा पुराना नगरपालिकाका लागि मात्रै नभएर नयाँ थप भएका नगरपालिकाका लागिसमेत फोहोरको व्यवस्थापन समस्याको विषय बनेको छ । विभिन्न अध्ययनले फोहरमा पोलिथिनको मात्रा सबैभन्दा बढी र सबैभन्दा समस्यापूर्ण रहेको देखिएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनमा गर्ने खर्चभन्दा कम बजेटमा यो उपकरण खरीद गर्न सक्छन् । उनले भने, ‘एक करोड रुपैयाँमा नगरपालिकाले यो कामग गर्न सक्छन्।’ रासस

 

प्रकाशित: १८ मंसिर २०७५ १०:५९ मंगलबार

पोलिथिनका_झोला पेट्रोलियम_पदार्थ नेपाल_विज्ञान_तथा_प्रविधि_प्रतिष्ठान