समाज

जुम्लाका स्थानीय तह प्रकोपको पूर्व तयारीमा

जुम्ला – जुम्लाका स्थानीय सरकार प्रकोप पूर्व तयारीमा जुटेका छन्। पछिल्लो समयमा विभिन्न विपद तथा प्रकोपले सताउन थालेपछि स्थानीय सरकारले प्रकोप पर्व तयारीका क्रियाकलाप अपनाउन थालेका हुन्। कुनै पनि प्रकोप तथा विपद्का समयमा आइपर्ने सम्भावित खतराबाट जोगिनको लागि सतर्कता अपनाइएको तातोपानी गाउँपालिका अध्यक्ष नबराज न्यौपानेले जानकारी दिए।

चन्दननाथ नगरपालिकासहित तातोपानी, पातारासी र तिला गाउँपालिकामा प्रकोप न्युनिकरण र जोखम पूर्व तयारीका काम भइरहेका हुन्। गाउँपालिका अध्यक्ष न्यौपानेले भने,“पछिल्लो समयमा जलवायु परिवर्तनका असर देखिन थालेका छन,धेरै वर्र्षा हुने, सुख्खा पहिरो खस्ने, बाढी, पहिरो जाने र पानीको वहाव अत्याधिक बढ्ने लगायतका समस्या आउन थालेकोले समयमै सचेत हुनुपर्ने देखिन्छ, यसका लागि स्थानीय सरकार सचेत छौँ।” प्रकोप जोखिममा प्रयोग हुने सामाग्री विभिन्न निकायसँग माग गरेर स्थानीय सरकारले सतकर्ता अपनाएका हुन।

नेपाल विपद् पूर्व तयारी परियोजना अन्तर्गत किर्डाक नेपालले जिल्लाका चार वटा स्थानीय तहलाई झण्डै १८ लाख सम्मको विपद व्यवस्थापन सामाग्री प्रदान गरेको छ। विपद सामाग्री पाएपछि गाउँपालिका भित्र विपद शाखा खोलेर २४ सै घण्टा उद्धार गर्ने खालको वातावरण तयार पारीने उनले बताए। जुम्लाका स्थानीय सरकारलाई खोज तथा उद्धार किटबक्समा २३ प्रकारका ९१ सामग्री प्रदान गरिएको हो।  प्रकोप तथा विपद्को सूचना तथा जानकारी लिन ४३ इन्चको स्मार्ट टिभी, डाटा राख्न कम्प्युटर, टेबल र कुर्सी, पावर ब्याकप, मल्टिमिडिया, स्टील दराज, क्यामरा लगायतका अन्य सामग्री स्थानीय सरकारलाई प्रदान गरेपछि तत्काल यो सामाग्रीको उपयोगमा लाग्ने स्थानीय सरकारले बताएका छन्।

सबै स्थानीय तहमा विपद् व्यवस्थापनका लागि खोज तथा उद्धार राहत कोष समेत गठन गरिएको छ।  राहत कोषमा एक लाख ५३ हजार जम्मा भएको छ। परियोजना अधिकृत कमलबहादुर छत्यालका अनुसार तातोपानी गाउँपालिकालाई ४ लाख ७६ हजार २ सय ६१, तिलामा ५ लाख ८ हजार ९३, पातारासीमा ४ लाख ८१ हजार ४ सय २५ र चन्दननाथ नगरपालिकालाई ३ लाख २४ हजार ६ सय १६ रुपैयाँ गरी जम्मा १८ लाख २९ हजार ३ सय ९५ रुपैयाँ बराबरको उद्धार समाग्री दिइएको हो। 

प्रकाशित: १८ मंसिर २०७५ ०६:३१ मंगलबार

जुम्ला स्थानीय_सरकार प्रकोप_पूर्व_तयारी