समाज

शिकार खेल्न गएका साथीको गोली हानी हत्या

धरान - करिब १० दिनदेखि घरबाट हराइरहेका धरान १७, उदय टोल (नमस्ते चोक) का एक युवालाई आफ्नै साथीहरुले वनमा शिकार खेल्न जादा हत्या गरेको खुलेको छ।

नमस्ते चोकका २१ बर्षीय आशिष ठटाललाई उनकै साथीहरुले हत्या गरेर उदय सामुदायिक वन धरान १७ मा शव गाडेको अवस्थामा फेला परेको हो। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आशिषकै ६ जना साथीहरुलाई पक्राउ गरिसकेको छ। पक्राउ परेका सबै शिकार खेल्न जंगल गएको प्रारम्भिक वयान र अनुसन्धानबाट खुलेपछि उनीहरुलाई पक्राउ गरिएको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए।

‘जम्मा ७ जना शिकार खेल्न आएका रहेछन्। त्यसैबेला आशिषको कर्तव्य गरी हत्या गरेको हो। कर्तव्य ज्यान कसरी भयो भन्ने चै खुल्न बाँकी छ,’ डिएसपी तिम्सिनाले भने।

अनुसन्धानको क्रममा पक्राउ परेका युवाहरुले सोमबार जंगलभित्र आशिषको शव गाडेको ठाउँ देखाएका थिए। उक्त ठाउँमा खनेर हेर्दा शवलाई सेतो बोराभित्र हालेर खाल्डो खनी गाडेको अवस्थामा फेला परेको थियो। मृतकका बुबा कुमार ठटालका अनुसार आशिष दुई छोरा मध्ये कान्छा हुन्। करिब १० दिनअघिदेखि आशिष घर फर्किएका थिएनन्। परिवारजनले सबैतिर सोधीखोजी गर्दा पनि फेला नपरेपछि उनका दाजु आमोशले केही दिनअघि प्रहरीमा उजुरी दिएका थिए। आशिषकै साथीहरुमाथि शंका लागेर प्रहरीले कमल गुरुङ र मदन वराइलीलाई पक्राउ गरेको थियो।

पक्राउ परेकाहरुसँग सोधपुछ र वयान लिने क्रममा आफुहरुले नै शिकार खेल्न जादा हत्या गरेर शव गाडेको स्वीकार गरेका थिए। त्यसपछि घटनामा संलग्न अन्य ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको थियो। अन्यको नाम भने प्रहरीले खुलाएको छैन। दाजु आमोशका अनुसार आशिष ग्रीलमा पनि काम गर्थे भने कहिलेकाहि साथीहरुसँग जंगल शिकार खेल्न पनि जाने गरेका थिए। स्थानीय एक युवाका अनुसार उदय वन भित्र रहेको रेलको लिक भएको ठाउँमा आशिष सुतिरहेको बेला उनका साथीहरुले वदेल जस्तै देखेर गोली हानेका थिए। युवाहरुले आशिषलाई गोली हानेको ठाउँबाट करिब १ किलोमिटर दक्षिणमा खाल्डो खनी शव गाडेका थिए। प्रहरीले घटनाबारे विस्तृत रुपमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ।

 

प्रकाशित: १७ मंसिर २०७५ १३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App