समाज

नागरिककर्मी खड्कालाई सेजन अवार्ड

नागरिक दैनिकका रुद्र खड्कालाई ‘सेजन अवार्ड’ प्रदान गर्दै अर्थमन्त्री युवराज खतिवडा। तस्बिर : नागरिक

काठमाडौं – नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले प्रदान गर्ने ‘सेजन अवार्ड’ नागरिक दैनिकका रुद्र खड्काले प्राप्त गरेका छन्। वर्षभरिको उत्कृष्ट आर्थिक समाचारमध्येबाट छानिएर खड्का पुरस्कृत भएका हुन्। सेजनले राष्ट्रिय महत्व र खोजमूलक समाचारको माध्यमबाट समाजमा योगदान पु-याउने छापा र विद्युतीय सञ्चार माध्यमका एक/एकजना पत्रकारलाई बर्सेनि ‘सेजन अवार्ड’ दिने गर्छ।

सिक्टा सिँचाइको मूल नहरलगायतको निर्माण कार्यमा भएको अनियमितताबारे नागरिक दैनिकमा प्रकाशित समाचारबापत खड्का पुरस्कृत भएका हुन्। उनले सिक्टाको अनियमितताको विषयमा ६ महिनादेखि निरन्तर खोजमूलक समाचार लेख्दै आएका छन्। स्वतन्त्र निर्णायक मण्डलले नागरिक दैनिकमा खड्काले लेखेको सिक्टा सिँचाइ आयोजनामा भएको अनियमिताबारेको समाचारलाई उत्कृष्ट ठह-याएको हो।

पुरस्कार छनोट समितिमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्राडा रामप्रसाद ज्ञवाली तथा पत्रकारहरू धु्रवहरि अधिकारी र बबिता बस्नेत थिए। छनोट समितिका संयोजक ज्ञवालीले समाचार छनोटका लागि समितिले विभिन्न सूचकहरू तय गरेको र प्रत्येक सूचकमा प्राप्त नम्बरका आधारमा विजेता छनोट गरिएको जानकारी दिए।

छनोट प्रक्रियाबारे जानकारी दिँदै उनले भने, ‘नागरिक दैनिकमा छापिएको सिक्टाको समाचारले सबैजसो सूचकमा बढी नम्बर पायो। उक्त समाचार खोजमूलक र राष्ट्रिय महत्वको पनि थियो।’

सेजन स्थापना दिवस समारोहमा शनिबार अर्थमन्त्री युवराज खतिवडाले पुरस्कार हस्तान्तरण गरेका थिए। पुरस्कारको राशी ५० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ। सोही कार्यक्रममा बोल्दै खतिवडाले कृषिको उत्पादकत्व वृद्धि गर्न सुरु गरिएको सिक्टा सिँचाइमा भएको बेथितिको समाचार सराहनीय भएको बताए।

‘म राष्ट्रिय योजना आयोगमा हुँदा २०६० मा बाँकेको कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुगेर उत्पादनमा सहयोग पुगोस् भनेर ६० करोड रुपैयाँ विनियोजन गरिएको थियो,’ उनले भने, ‘सिक्टाको पछिल्लो समाचारले सरकारको आँखा खोलेको छ। उक्त आयोजना बन्नुपर्छ भन्नेमा सरकार छ।’ राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ। तर, आयोजनाको मूल नहर भने परिक्षणकै क्रममा भत्कने गर्छ।

विद्युतीय सञ्चार माध्यमको तर्फबाट क्यापिटल अनलाइनका सुवास योञ्जनले सेजन अवार्ड पाए। उनले हिमाली क्षेत्रको पदयात्रामा जाने पर्यटकको फर्जी उद्धार र उपचार सम्बन्धि समाचारका लागि अवार्ड पाएका हुन्।

प्रकाशित: १७ मंसिर २०७५ ०१:३४ सोमबार

रुद्र_खड्का नेपाल_आर्थिक_पत्रकार_समाज सेजन_अवार्ड