समाज

जनचेतनामा अब्बल प्रहरी

सुर्खेत– समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुर्खेत प्रहरीले एक सय दिनको अवधिमा करिब दुई हजार ठाउँमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। टोलटोलमा प्रहरीको उपस्थिति देखाउन, समाजमा हुने अपराध नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले सय दिनको अवधिमा एक हजार नौ सय ५९ स्थानमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

यी कार्यक्रममा एक लाख भन्दाधेरै नागरिकहरुको सहभागिता रहेको पनि प्रहरीले जनाएको छ। ‘यो अवधिमा सामुदायिक–प्रहरी साझेदारी, सामाजिक अपराधविरुद्ध जनचेतनामूलक कार्यक्रम, सवारी दुर्घटना तथा ट्राफिक नियम सम्वन्धी जनचेतनामूलक कार्यक्रम, नागरिक सुनुवाईलगायतका करिब दुई हजार ठाउँमा कार्यक्रम सम्पन्न गरेका छौं’, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले भने, ‘यस्ता कार्यक्रमहरुलाई अझ तिव्रताका साथ अगाडि बढाउँदै लैजाने लक्ष्य हामीले राखेका छौं।’

यस्ता कार्यक्रममार्फत अपराध नियन्त्रणका साथै संभावित सूचनाहरु प्राप्त हुने गरेको उनको भनाई छ। प्रहरीले अपराध नियन्त्रण तथा उत्कृष्ट जनचेतनामूलक कार्यक्रम गर्ने प्रहरी यूनिटहरुलाई पनि सम्मान र पुरस्कृत गर्ने गरेको छ। ‘यसले जिल्लाभित्रका सबै युनिटहरुबीच प्रतिस्पर्धा हुन्छ’, एसपी रजौरेले भने, ‘संभवतः छोटो समयमा यतिधेरै जनचेतनामूलक कार्यक्रम गर्ने सुर्खेत पहिलो जिल्ला हुनुपर्छ।’ प्रहरीले कात्तिक महिनाको उत्कृष्ट प्रहरी यूनिटका रुपमा प्रहरी चौकी बड्डीचौर र अस्थायी प्रहरी पोष्ट लगामलाई सम्मान ग-यो।

प्रहरीले यो अवधिमा चार हजार लिटर तयारी मदिरा, सात हजार लिटर कच्चा पदार्थ नष्ट गर्नुका साथै दुई हजार बोट गाँजा नष्ट गरेको जनाएको छ। यस्तै ३६.६४ ग्राम ब्राउनसुगर, ११.५०० ग्राम गाँजा बरामद गरेको छ भने लागूऔषधमा ३१ जनालाई मुद्धा दर्ता गरेको जनाएको छ। ३१ मुद्दामा ४८ पुरुष र चार जना महिलालाई विपक्षी बनाइएको छ। 

यस्तै दशैं–तिहारको बेला ७७ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुबाट ११ लाख ५० हजार २८ रुपियाँ बरामद गरिएको प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए। यस्तै जिल्ला अदालतले विभिन्न मितिमा फैसला गरेर फरार रहेका १३ जनालाई पक्राउ गरेर कारागार चलान गरिएको उनले बताए। 

४३ लाख ८० हजार राजस्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा ४३ लाख ८० हजार राजस्व संकलन गरेको छ। ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार साउन महिनामा एक हजार ४४१ सवारी कारवाहीबाट आठ लाख ५२ हजार पाँच सय, भदौ महिनामा एक हजार ६९७ सवारी कारवाहीबाट १० लाख ३७ हजार, असोज महिनामा एक हजार ८१४ सवारी कारवाहीबाट १० लाख ४२ हजार र कात्तिक महिनामा दुई हजार २४२ सवारी कारवाहीबाट १४ लाख ४८ हजार ५०० रुपियाँ राजस्व संकलन भएको उल्लेख छ। यस्तै चार महिनाको अवधिमा एक सय ८८ जनालाई मादक पदार्थ सेवनमा कारवाही गरिएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित: १४ मंसिर २०७५ १२:१० शुक्रबार

नेपाल_प्रहरी