समाज

रोल्पा प्रहरीको आधुनिक भवनको शिलान्यास

भवन शिलान्यास गर्दै डिएसपी दिपक खड्का ।

रोल्पा – जिल्ला प्रहरी कार्यालय रोल्पाको भवन शिलान्यास गरिएको छ। २२ कोठे आधुनिक भवन निमार्णको शुक्रबार रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले शिलान्यास  गरे। इन्जिनियर शंकट सिलवालका अनुसार पुरानो ब्यारेक भवनको तल्ला थप गरी ४ कोठा र नयाँ भवन साढे २ तल्लाको १८ कोठा गरी २२ कोठे कार्यालय भवन निर्माण गरिने छ।

एम.के.देवसिंङ जेबी धनगढीले जिम्मा लिएको भवनको निमार्ण गर्ने सम्झौता एक वर्षको रहेको डिएसपी खड्काले बताए। भवनको कुल लागत ४ करोड ४६ लाख १४ हजार ७ सय १२ रुपैयाँ रहेको छ। शिलान्यास कार्यक्रममा प्रहरी प्रमुख खड्काले भने, ‘अहिले जिल्लामा भौतिक संरचना प्रयाप्त नहुँदा जिल्ला प्रहरी कार्यालयबाट सेवा प्रवाहमा कठिनाई भइरहेको थियो। अब भवन निर्माणपछि सहज हुनेछ।’

उनले भवन निमार्ण सम्झौता गरेको मिति भित्रै सकाउन निर्माण व्यवसायीलाई आग्रह गरे। रोल्पामा आज पनि प्रहरीका लागि सरकारले मासिक १ लाख २३ हजार ३८ रुपैयाँ घरभाडा तिर्ने गरेको छ। शान्ति प्रकृया पछिको १२ वर्षयता रोल्पाका इलाका प्रहरी कार्यालय होलेरी, सुलिचौर, पोवाङ र घर्तीगाउँका प्रहरी भवन पुनर्निमाण गरिएका छन्। बाँकी गाउँका सबै चौकी अझैं भाडाका घरमा छन्।

प्रकाशित: १४ मंसिर २०७५ ११:१७ शुक्रबार

प्रहरी_कार्यालय भवन_शिलान्यास