समाज

रसुवामा चौरीपालन व्यवसाय घट्यो

रसुवा - रसुवामा चौरी पाल्ने कृषक घट्दै गएका छन्। भूकम्पले क्षति पुगेको बाटो तथा खर्क पुनर्निर्माण हुन नसक्दा कृषकले चौरी पाल्न छाडेका हुन्।

भूकम्पका कारण आएको हिमपहिरोले लाङटाङका २० कृषकको ज्यान लियो। चार सयभन्दा बढी याक तथा नाक मरे। खर्क जाने बाटो पहिरोले लग्यो । केही खर्क पहिरोले पुरिए। भएका मुहान पनि सुके । तर भूकम्प गएको ४३ महिनासम्म पनि समस्या समाधान हुन नसक्दा कृषकले पेसा नै परिवर्तन गरेका छन्।

गोसाइकुण्ड गाउँपालिका–४ थाङस्यापका बाबु तामाङ होटल व्यवसायी हुन् । २०४४ सालदेखि उनले होटल सञ्चालन गरेका थिए । उनी चौरीपालक कृषक पनि हुन् । तर भूकम्पपछि उनले चौरीपालन व्यवसाय नै छाडे । ‘भूकम्पले सबै चौरी मरेपछि मनै मर्यो,’ उनले भने, ‘अब होटल मात्रै चलाउँछु।’

पहिले कृषि तथा पशुपालन व्यवसायमा संलग्न भएका कृषकले अहिले होटल व्यवसाय सुरु गरेका क्यान्जिनका कर्मा तामाङले बताए। ‘भूकम्पभन्दा अघि यहाँका मानिसले चौरी पाल्ने तथा तरकारी खेती गर्थे,’ उनले भने, ‘अहिले एक घर एक होटल जस्तै भएको छ।’

जिल्लाको गोसाइकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा चौरी पाल्ने गरिन्छ। भूकम्प अगाडि लाङटाङमा १० प्रतिशत कृषकले चौरी पाल्थे। त्यहाँ एक सय १६ घरधुरी रहेका छन्। अहिले घटेर पाँच प्रतिशतमा झरेको छ।

उनीहरूले पेसा नै परिवर्तन गरेर होटल व्यवसायमा हात हालेका छन्। चौरी पाल्ने क्षेत्रमा बाटो, खानेपानी तथा चरन क्षेत्रको अभाव भएको कारण कृषक घटेको लाङटाङ गोठ समितिको अध्यक्ष तेन्जेन लामाको भनाइ छ। ‘सबै साथीले चौरी छाडिदियो भने पेसा नै हराउँछ,’ उनले भने, ‘किसानले पेसा परिवर्तन गर्नु भन्दा पनि समाधानतिर लाग्नुपर्ने हो।’ उनीसँग अहिले १५ वटा चौरी छन्। भूकम्प जानुपूर्व उनीसँग २५ वटा चौरी थिए। भूकम्पले बाटोमा क्षति पुगेपछि चौरीलाई खर्कमा लैजान कठिन भएको उनले बताए। ‘हामीले निकुञ्जसँग पहल गरिरहेका छौं,’ उनले भने, ‘तर हुन्छ भनेर टार्ने गरेका छन्।’

कुनै ठाउँमा पुल निर्माण गर्नुपर्छ। बजेट नआएपछि समस्या भएको हो। ठूलो पहिरो गएको क्षेत्रमा किसान आफैंले पुनर्निर्माण गर्न सक्ने अवस्था छैन। भूकम्प जानुपूर्व त्यहाँ ३० गोठ थिए। अहिले १८ वटा गोठ छन् । लाङटाङमा करिब तीन सय चौरी छन्। कृषक घटेपछि चीज उत्पादन समेत निरन्तर घट्दै गएको छ। २०७२ अघि पाँच हजार केजी चीज उत्पादन गर्दै आएको लाङटाङ चीज उत्पादन केन्द्रले यो वर्ष सात सय केजी चीज उत्पादन गर्यो। गत वर्ष दुई हजार आठ सय केजी चीज उत्पादन गरेको थियो। 

 

प्रकाशित: १४ मंसिर २०७५ ०७:१३ शुक्रबार

रसुवा चौरी