धादिङ - खुला रूपमा जडान गरिएका पाइप ठाउँ–ठाउँमा काटिएका कारण पूरै पानी उपभोक्ताका धारासम्म आइनपुग्नु धादिङ सदरमुकाम धादिङबेंसीको समस्या नै हो। नीलकण्ठ नगरपालिका क्षेत्रमा पर्ने यहाँका धारामा नियमित पानी नआउँदा सदरमुकामबासीले दैनिक समस्या व्यहोर्नु परिरहेको छ। बढ्दो जनसंख्याका कारण यहाँ बर्सेनि खानेपानीको समस्या चुलिँदै गएको छ। वितरित धारामा पानी नआउने भएपछि आसपासका ढुंगेधाराहरूमा दिनरात पानी थाप्नेको भीड लाग्नेगरेको छ। बढ्दो सहरीकरणका कारण कतिपय ढुंगेधारा पनि सुक्दै गएका छन्। धादिङबेंसीकी मनमाया तामाङ खानेपानीको जोहो गर्न वरपरका ढुंगेधारा तथा कुवाहरूमा दैनिक धाउनुपर्ने बाध्यता रहेको बताउँछिन्। ‘धारामा नियमित पानी आउँदैन,’ उनले भनिन्, ‘बिहान र बेलुकाको समय पानी जोहो गर्दैमा जान्छ।’
लामो समयदेखि यस्तो समस्या झेल्दै आएका धादिङ सदरमुकामबासीले अब सहज रूपमा खानेपानी पाउने भएका छन्। स्थानीय नागरिकको समस्यालाई मध्यनजर गर्दै नीलकण्ठ नगरपालिकाले वडा नम्बर ३, डाँडागाउँमा चार लाख लिटर क्षमताका दुईवटा पानीट्यांकी निर्माण गरेको हो। यो ट्यांकीबाट पानी वितरण हुन थालेपछि सदरमुकामबासीको खानेपानी समस्या समाधान हुने अपेक्षा गरिएको छ।
लामो समयदेखि खानेपानी अभाव झेल्दै आएका धादिङ सदरमुकामबासीले अब सहज रूपमा पानी पाउने भएका छन्। नीलकण्ठ नगरपालिकाले वडा नम्बर ३, डाँडागाउँमा चार लाख लिटर क्षमताका दुईवटा ट्यांकी निर्माण गरेकाले खानेपानी आपूर्ति सहज हुने भएको हो।
हाल बनाइएको ट्यांकीनजिकै पहिलेका साढे तीन लाख लिटर क्षमताको दुईवटा ट्यांकी छन्। तिनले मात्र सदरमुकामबासीको आवश्यकता धान्न नसकेपछि धारामा नियमित पानी आउन नसकेको हो। अब चार लाख लिटर क्षमताको ट्यांकी थप भएपछि सदरमुकामबासीलाई परिरहेको खानेपानी समस्या समाधान हुने धादिङबेंसी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिका अध्यक्ष गणेशकुमार श्रेष्ठको दाबी छ। ‘जनताका गुनासोलाई सम्बोधन गर्दै समाधानतर्फ लागेका छौं,’ उनले भने, ‘अब सहज रूपमा खानेपानी आपूर्ति हुनेछ।’
नीलकण्ठ नगरपालिकाको अनुदान रकममा निर्मित ट्यांकी एक समारोहका बीच नगरप्रमुख भीमप्रसाद ढुंगानाले उपभोक्ता समितिलाइ हस्तान्तरण गरेका छन्। नीलकण्ठ नगरपालिकाको ४७ लाख ४५ हजार १ सय २५ रुपैयाँमा खानेपानीका दुई ट्यांकी निर्माण गरिएका हुन्। खानेपानी मुहान संरक्षणका लागि समेत नगरपालिकाले थप २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको थियो।
धादिङस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयको सहयोगमा ६ किलोमिटर लामो पाइपलाइन बिच्छ्याएर उक्त ट्यांकीमा पानी खसालिएको र अब चाँडै सबै उपभोक्ताका घर–घरमा पानी पु-याइने उपभोक्ता समितिले जानकारी दिएको छ। सदरमुकामबासीलाइ १२ घण्टासम्म नियमित वितरण गर्ने सक्ने गरी पानीको व्यवस्था गरिएको नगरप्रमुख ढुंगानाको दाबी छ। सदरमुकाम क्षेत्रका सबै ठाउँका वितरण प्रणालीमा समेत सुधार गरिने उनको भनाइ छ।
धादिङबेंसी बजार नीलकण्ठ नगरपालिका क्षेत्र मात्र नभई जिल्लाकै सदरमुकाम समेत भएकाले व्यवस्थित बनाउन सडक बोर्डबाट फुटपाथ निर्माणका लागि सर्वेक्षेण भइरहेको जानकारी पनि उनले दिए।
प्रकाशित: १३ मंसिर २०७५ ०२:२८ बिहीबार