समाज

अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट

हेटौँडा- मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ।

यही मङ्सिर ९ गतेदेखि १५ गतेसम्म कार्यालयले शुरु गरेको दोस्रो चरणको अभियानअन्तर्गत आजसम्ममा सो परिमाणमा गाँजा र अफिम खेती नष्ट गरिएको हो। कार्यालयबाट प्राप्त विवरणअनुसार जिल्लाबाट छुट्टाछुट्टै तीन वटा समूहमा खटिएको प्रहरी टोलीले जिल्लाको राक्सिराङ गाउँपालिका–९ को सानो टोड्के, वडा नं ८ को काँकडा, वडा नं ७ गर्लिङ र कैलाश गाउँपालिका–४ सर्सिङ र लिप्चेमा लगाइएका गाँजा खेती २८ बिघा १० कट्ठा र अफिम आठ बिघा नष्ट गरेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार प्रहरी निरीक्षकको नेतृत्वमा सञ्चालित अभियानमा ६० प्रहरी परिचालित छन्।

दोस्रो चरणको अभियानअन्तर्गत जिल्लाको विभिन्न स्थानमा २२१ बिघा चार कट्ठा गाँजा तथा १०७ बिघा जमीनमा लगाइएको यस्ता अवैध खेती नष्ट गर्ने लक्ष्य रहेको प्रहरी नायब उपरीक्षक सिंहको भनाइ छ। अवैध गाँजा तथा अफिम खेती गर्ने स्थान अत्यन्त दुर्गम स्थानमा पर्नुका साथै यातायात मार्ग र सवारी साधनको पहुँच नभएको र जिल्लाको सदरमुकाम तथा प्रहरी प्रशासनको सहज पहुँचभन्दा धेरै टाढा रहेको हुँदा विगतदेखि गाँजाको खेती तथा उत्पादन हुने गरेको बताइन्छ।

उक्त स्थानमा प्रहरीले गाँजा तथा अफिम फँडानीको साथसाथै स्थानीय जनसमुदायमा लागुऔषधको उत्पादन, बेचबिखन र दुव्र्यसनविरुद्ध पर्चा पम्पलेट वितरण गरी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ। उक्त कारवाहीको क्षेत्रमा गाँजाखेतीको विकल्पमा अन्य कृषि पेशा अपनाउन सरकारी स्तरबाट आवश्यक सहयोगका कार्यक्रम ल्याउनुपर्ने स्थानीयले माग गरेका छन्। रासस 
 

 

प्रकाशित: १२ मंसिर २०७५ १०:३७ बुधबार

गाँजा अफिम नष्ट