समाज

फरार अभियुक्त जेल चलान

खोटाङ - ज्यान मार्ने उद्योगका फरार प्रतिवादी जेल चलान भएका छन्। ज्यान मार्ने उद्योग अन्तर्गत चार वर्षअघि सजाय सुनाइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका प्रभाकर राई फरार रहेको लामो समयपछि पक्राउ परेर जेल चलान भएका हुन्।

तिलक विश्वकर्माको जाहेरीमा जिल्ला अदालत खोटाङले २०७१ साल पुस ८ गते उनलार्इ ४ वर्ष कैंद सजाय र ५ हजार १ सय जरिवाना हुने फैसला सुनाइएकाे थियाे। लुकीछिपी बस्दैआएको सुचनाका आधारमा उनलार्इ मंसिर ८ गते भक्तपुरकाे नयाँठिमीबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए।

भक्तपुरबाट अड्डासार गर्दै मंसिर १० गते जिल्ला प्रहरी कार्यालयमा ल्याइएका राईलाई मंगलबार फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरि सोही दिन कारागार पठाइएको प्रहरीले जनाएको छ। केही समय थुनामा बसिसकेकाले उनी ३ वर्ष ११ महिना ३ दिनका लागि जेल पठाइएका हुन्। सोही मुद्दामा संलग्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका खेमराज बुढाथोकीलाई यसअघि नै पक्राउ गरेर जेल पठाइसकिएको डिएसपी केसीले बताए। उनीहरुमाथि रामकुमार विश्वकर्मालाई मराणासन्न हुनेगरी कुटपिट गरेको र एउटा आँखा कामै नलाग्नेगरी फुटाइदिएको अभियोग छ।

प्रकाशित: १२ मंसिर २०७५ ०८:५१ बुधबार

फरार_अभियुक्त