समाज

दुई वर्षदेखि एम्बुलेन्स बन्द

ओखलढुंगा – रावाबेंसी गाउँपालिका–३ लामिडाँडा खोटाङकी झरना श्रेष्ठ उच्च रक्तचापकी बिरामी थिइन्। एक दिन उनलाई अचानक रोगले च्याप्यो। स्थानीय लामिडाँडा स्वास्थ्य चौकीमा उनको उपचार सम्भव भएन। उनलाई तत्कालै अन्यत्रै लानुपर्ने भयो। गाउँमा एम्बुलेन्स भए पनि चालक थिएन। अर्को एम्बुलेन्स खोज्ने क्रममा उनका पति महेशकुमार श्रेष्ठले ठूलै सास्ती खेप्नुपर्यो। दुई दिनपछि मात्र निर्मलीडाँडाको एम्बुलेन्स भाडामा पाइएको श्रेष्ठ बताउँछन्।

‘त्यही एम्बुलेन्स २० हजारमा रिजर्भ गरेर श्रीमतीलाई विराटनगर पुर्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं लगियो,’ दुःखी हुँदै उनले सुनाए, ‘तर बचाउन सकिएन।’ दुई वर्षदेखि गाउँकै स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स सञ्चालनमा नआउँदा श्रेष्ठले जस्तै समस्या लामिडाँडा र आसपासका बासिन्दाले भोगिरहेका छन्। स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएका बिरामीलाई चर्को मूल्यमा गाडी रिजर्भ गरेर अन्यत्र लैजानुपर्ने बाध्यता छ।

लामिडाँडा स्वास्थ्य चौकीमा एम्बुुलेन्स त छ तर दुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन। स्वास्थ्य चौकीले चालकका लागि तलबभत्ता व्यवस्था गर्न नसक्दा एम्बुलेन्स बन्द भएको हो। चल्दाचल्दैको को१झ ४९१ नम्बरको एम्बुलेन्स लामिडाँडा विमानस्थलनजिकै थन्किएको अवस्थामा रहेको छ।

स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेका तथा उपचार सम्भव नभएर रेफर गरिएका बिरामीलाई सदरमुकाम दिक्तेल, ओखलढुंगा, विराटनगर, काठमाडौंलगायतका ठूला अस्पतालमा लैजान समस्या भएको वडाध्यक्ष विधुर खतिवडा बताउँछन्। ‘बिरामीलाई थप उपचारका लागि अन्यत्र लैजान समस्या छ। व्यक्तिको निजी तथा भाडाको गाडी चर्को मूल्यमा रिजर्भ गरेर बिरामी बोक्नुपर्ने बाध्यता छ,’ उनी भन्छन्, ‘गाउँपालिकासँगको समन्वयमा मर्मत गरेर चालकको व्यवस्था गरेर चाँडै एम्बुलेन्स सञ्चालनमा ल्याउने योजना छ।’

करिब एक वर्षदेखि स्तरोन्नतिका लागि लामिडाँडा विमानस्थलसमेत बन्द गरिँदा अन्यत्र रेफर गरिएका यहाँका बिरामी र आफन्तलाई बढी समस्या हुने गरेको छ। चार वर्षअघि आन्तरिक राजस्व कार्यालय इटहरीमार्फत स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध भएको थियो। दुई वर्षसम्म तत्कालीन गाविसको बजेटले एम्बुलेन्स चालकको व्यवस्थापन गरेर चलाइएको भए पनि पछि स्वास्थ्य चौकीले तलबभत्ता व्यवस्था गर्न नसक्दा एम्बुलेन्स थन्किएको हो।

प्रकाशित: १२ मंसिर २०७५ ०१:४० बुधबार

लामिडाँडा_खोटाङ झरना_श्रेष्ठ एम्बुलेन्स_बन्द