समाज

साप्सु खोलामा मोटरेबल पुल निर्माण हुने

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सुखोलास्थित मोटरेबल पुल निर्माणका लागि प्रदेशबाट १ करोडभन्दा बढि बजेट बिनियोजन भएको छ। दिप्रुङ गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बिचमा रहेको साप्सु खोलामा निर्माण गरिने मोटरेबल पुलका लागि १ नम्बर प्रदेशबाट १ करोड ३५ लाख सशर्त अनुदान स्वीकृत भएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले बताए।

दिप्रुङ गाउँपालिका र खानीडाँडा बिमानस्थल हुँदै दिक्तेल जोड्नका लागि निर्माण गरिएको याम्खा–खानीडाँडा सडक खण्डमा पर्ने साप्सु खोलाको बाटोफेदीमा पक्की पुल निर्माणका लागि बिस्तृत आयोजना प्रतिवेदन  (डिपिआर) को काम सम्पन्न भइसकेकाले बीड डकुमेन्ट तयार पारेर टेण्डर आव्हान गर्ने तयारी भएको दिप्रुङ गाउँपालिकाले जनाएको छ। सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २०७४ साल कार्तिक २९ गते सडक विभाग पाटनढोका ललितपुरमा निबेदन दिएको थियो। साप्सु खोलामा पक्की पुल निर्माण भएपछि दिप्रुङ गाउँपालिकाका याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रीङ लगायतका स्थानीयलाई सदरमुकाम आउजाउ गर्ने सवैभन्दा छोटो बाटो खुल्ने गाउँपालिका प्रमुख राईले बताए।

दिप्रुङ गाउँपालिका बाहेक दक्षिणी गाउँपालिकालाई समेत यस सडक र पुलले साबिको सदरमुकाम दिक्तेलसँग जोड्ने छ। गाउँपालिकालाई विमानस्थल र सदरमुकामसँग नजिक बनाउनका लागि सडक विभागको ६ लाख अनुदानमा २०७४ साल भदौ २४ गतेदेखि ट्र्याक खोल्न सुरु गरिएको सो सडक निर्माणकाक्रममा दिप्रुङ गाउँपालिकाले ७५ लाख वजेट खर्च गरेको छ। २०७१ सालमा सडक विभागबाट प्राप्त ८ लाख बजेटले कालेपत्रे गर्ने लक्ष्यकासाथ याम्खा–खानीडाँडा सडकको डिपिआर तयार पारिएको थियो। सदरमुकाम दिक्तेलबाट खानीडाँडासम्म यसअघि नै कच्ची सडक निर्माण भइसकेको छ।

याम्खा–खानीडाँडा सडक गाउँपालिकाभित्रका विरामीलाई खानीडाँडा विमानस्थल हुँदै सुविधा सम्पन्न अस्पताल पुर्‍याउनका लागि समेत उपयोगी हुने गाउँपालिका प्रमुख राईले बताए।

 

प्रकाशित: ११ मंसिर २०७५ १२:०७ मंगलबार

खोटाङ पुल निर्माण