समाज

लैंगिक मैत्री शौचालय बनेपछि छात्रा खुसी

वरदेवी आधारभूत विद्यालयको लैंगिक मैत्री शौचालय। तस्बिर : भगवती/नागरिक

नुवाकोट - नुवाकोट बेलकोटगढी नगरपालिका–१० बेलकोटमा रहेको निरञ्जना माध्यमिक विद्यालयमा पढ्ने कक्षा ११ की विनीता रेग्मी महिनाबारी हुँदा सरसफाइका लागि घर आउने जाने गर्थिन्। यसले गर्दा उनको कक्षा छुट्थ्यो। कहिले त विद्यालय नै नआई घरमै बस्थिन्। तर अहिले विद्यालयमा लैंगिक मैत्री शौचालय बनेपछि महिनाबारीको समयमा कक्षा छुट्ने त के, उनलाई मानसिक तनावसमेत हुन छाडेको छ। ‘केटाकेटी सबैले एउटै शौचालय प्रयोग गर्नुपर्ने हुँदा पालो कुर्नुपर्ने झन्झट थियो। सबैभन्दा गाह्रो महिनाबारीको समयमा हुन्थ्यो। प्याड बदल्न घरै पुग्नुपर्ने अवस्था थियो। कक्षा छुट्थ्यो। तनाव उत्तिकै भएर पढाइमा ध्यानसमेत जाँदैनथ्यो,’ खुसीको भाव दर्साउँदै उनले भनिन्, ‘अहिले भने हामीलाई सहज हुनेगरी शौचालय बनेको छ। विद्यालयले नै सेनेटरी प्याड उपलब्ध गराउँछ। शौचालयभित्रै फोहोर प्याड राख्ने व्यवस्था छ। धेरै जम्मा भएपछि प्याड जलाएर नष्ट गर्छौं।’

यस्तै वडा नम्बर १० कै पोखरीमा रहेको वरदेवी आधारभूत विद्यालयमा पनि अघिल्लो वर्षदेखि लैंगिक मैत्री शौचालय प्रयोगमा आएको छ। यस्तो शौचालयले डराईडराई शौच गर्नुपर्ने अवस्था हटेको कक्षा ८ मा अध्ययनरत अस्मिता गजुरेलले बताइन्। ‘राम्रो शौचालय नहुँदा खुला ठाउँमा लुकेर दिसापिसाब गर्नु पथ्र्यो। कोईकसैले देख्छ कि भनेर मनमा डर हुन्थ्यो,’ उनले भनिन्, ‘शौचालय प्रयोग गर्न पाउँदा अहिले त सुरक्षित भएको महसुस हुन्छ।’

महिनाबारी हुनु भनेको नियमित प्राकृतिक जैविक प्रक्रिया हो तर नियमित सरसफाइ गरिएन भने यौनांगदेखि पाठेघरसम्म नै असर गर्न सक्छ। महिनाबारी हुँदा बग्ने रगतले भिज्नेबित्तिकै र सामान्य अवस्थामा सात घण्टामा प्याड फेर्नैपर्छ भन्ने छ। फोहोर प्याड जथाभावी फाल्दा वातावरण अस्वच्छ हुने देखेर विद्यालयले प्रयोग भएको प्याड छुट्टै राख्ने र पछि जलाउने व्यवस्था गरेको शिक्षक देवकी तिमल्सिना डोटेलले बताइन्। ‘सुरुआती समयमा विद्यालयमा शौचालय नै थिएन। पछि निर्माण त गरियो तर त्यति धेरै प्रभावकारी भएको थिएन। भूकम्पले विद्यालयका भवनहरु भत्कायो। भवन बनाउने क्रममा लैंगिक मैत्री शौचालय बनाइएको छ। यसले गर्दा छात्रासँगै हामी महिला शिक्षकलाई समेत सहज भएको छ,’ उनले भनिन्, ‘ग्रामीण भेगमा सेनेटरी प्याड किन्न सहज छैन भनेर विद्यालयमा नै उपलब्ध छ। विद्यार्थीलाई घरमा नै प्याड बनाउने तालिम पनि दिएका छौं।’

विद्यालयमा निर्माण गरिएको लैंगिक मैत्री शौचालय कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक सहयोग तथा जिल्ला जनस्वास्थ्य कार्यालयको सहकार्यमा गुड नेवर्स इन्टरनेसनल नेपालद्वारा सञ्चालित हेल्थ सिस्टम रिकभरी प्रोजेक्ट नुवाकोटको प्राविधिक सहयोगमा निर्माण गरिएको प्रधानाध्यापक केदारप्रसाद डोटेलले बताए। डोटेलको अनुसार लैंगिक मैत्री शौचालय प्रयोगमा आएपछि विशेष गरी छात्राको कक्षा नियमित भएको छ। त्यसैगरी पढ्ने वातावरणसमेत विद्यार्थीलाई भएको महसुस गरिएको छ।

प्रकाशित: ११ मंसिर २०७५ ०२:४५ मंगलबार

लैंगिक_मैत्री_शौचालय