समाज

टिपरको ठक्करबाट एकको मृत्यु, स्थानीयद्वारा टिपर चलाउन रोक

उदयपुर– कसमस सिमेन्टको चुनढुंगा बोक्ने टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। आइतबार राति १० बजे ठक्कर दिएर गम्भीर घाइते भएका त्रियुगा नगरपालिका ७ चुहाडे कपासेका १९ वर्षीय सोनम राईको केहीबेरमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

मदन भण्डारी बैकल्पिक लोकमार्गमा स १ प ३१२७ नम्बरको मोटरसाइकललाई  बा ३ ख ६११५ नं. को टिपरले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका स्थानीय इन्द्र राईका छोरा सोनमको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका १८ वर्षीय भुपेन्द्र राई सामान्य घाइते भएका छन्। 

टिपर उदयपुरगढी गाउँपालिका ४ सरुनेस्थित खानीबाट चुनढुंगा बोकेर आउँदै गरेको बेला दुर्घटना हुँदा सोनामको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। धनुषामा रहेको कसमस सिमेन्ट उद्योगले महिना दिनयता उदयपुरबाट चुनढुंगा ढुवानी गर्दै आएको छ। 

मोटरसाइकललाई ठक्कर दिएलगत्तै फरार रहेको टिफर र चालक गणेशबहादुर थापाक्षेत्रीलाई सोमबार दिउसो कटारीदेखि पक्राउ गरी सदरमुकाम ल्याएर अनुसन्धान थालिएको एसपी राईले बताए। कटारी नगरपालिका ८ सिरीसेका क्षेत्री मोटरसाइकललाई ठक्कर दिएलगत्तै टिपरसहित भागेर सम्पर्कबिहीन भएका थिए। पक्राउ टिपर चालक र टिपर धनीले दुर्घटना अर्को टिपरका कारण हुन गएको भन्दै त्यसका चालकलाई समेत झिकाउनुपर्ने माग राखेपछि उनलाई झिकाइएको राईले बताएका छन्। 

एकजना चालक नियन्त्रणमा परे पनि अर्का बाँकी रहेकाले छलफल हुन नपाएकाले स्थानीयले सो सडकमा चुनढुंगा बोक्ने टिपरलाई हिड्नबाट रोकेका छन्। 

दुर्घटनामा परी स्थानीय युवाको मृत्युपछि आक्रोशित गाउँलेहरुले उचित क्षतिपूर्ति र सुरक्षित हिड्ने पक्कापक्की नगरेसम्म सो रुटमा चल्ने टिपर चलाउन नदिने अडान लिएपछि २ दर्जन बढी टिपरको आउजाउ बन्द भएको छ। यसअघि पनि यस्ता सो क्षेत्रमा टिपरले दुर्घट्ना गराउँदा मान्छेको ज्यान गएको भन्दै स्थानीयको टिपरप्रतिको धारणा फरक भएकाले सुरक्षित तरिकाले चलाउनुपर्ने प्रतिबद्धता खोजेको त्रियुगा नगरपालिका ७ का वडाध्यक्ष भिमबहादुर पुलामी मगरले बताए। ‘बारम्बार यस्ता घट्ना हुने हो भने स्थानीयले सहने कुरै हुँदैन, त्यसैले जनताले सुरक्षित तवरले टिपर चलाउनुपर्छ भन्ने प्रतिबद्धताको माग गरेका छन्’, उनले भने।  

मृतकको शव पोष्टमार्टम भइसके पनि २ तर्फी छलफल हुन बाँकी रहेकाले उदयपुर अस्पतालमै राखिएको छ। प्रहरीले अर्का चालक पनि ल्याएपछि पीडित र पीडकपक्ष दुवैलाई राखेर छलफल गरी सहमतिको खोजी गर्ने जनाएको छ। सहमति नभएसम्म शव नउठाउने र टिपर चल्न नदिने स्थानीयको अडान रहेकाले छिटो समाधान खोज्ने प्रहरीले प्रयास गरिरहेको छ। 

प्रकाशित: १० मंसिर २०७५ १४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App