समाज

महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु

रुपन्देही- 'लैङ्गिक हिंसा दुर्व्यवहार : छैन हामीलाई स्वीकार' भन्ने नाराका साथ प्रदेश ५ मा पनि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ। प्रदेश नम्बर ५ बुटवलमा सामाजिक विकास मन्त्रालय र प्रदेशसभा सचिवालयले छुटाछुट्टै कार्यक्रम गरि हिंसा विरुद्धको अभियानका कार्यक्रम शुरु गरेका छन्। संयुक्त राष्ट्रसंघीय आवासिय प्रतिनिधि कार्यालय र प्रदेशसभा सचिवालयले  प्रदेश ५ को प्रदेशसभा भवनमा हिंसा विरुद्धको सुन्तला रंगको बत्ति बालिएको छ।

साँझ साँढे ५ बजे विश्वभर नै हिंसा विरुद्धको रंग बालिएको हो। सात वटै प्रदेशका भवनमा सुन्तला रंग बालिने कार्यक्रम अन्तर्गत प्रदेश ५ मा पनि सुन्तला रंगको बत्ति बालिएको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि बुटवलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख पूर्ण बहादुर घर्तीले विभेदकारी सोच बदल्न आग्ह गरे। उनले भने –‘२१ औं शताब्दिमा हिंसा स्विकार्य हुन सक्दैन, यस्तो सोँच परिवर्तन गर्नुपर्छ।’ उनले महिलाहरु माथि भइरहेको हिंसा स्विकार्य हुनै नसक्ने बताए। उपसभामुख कृष्णी थारुले हिंसा रहित प्रदेश बनाउने बताईन्। उनले महिला माथि हुने हिंसा रोक्नका लागि महिलाहरुलाई सशक्तिकरण गर्नुपर्ने बताइन्।

यसैगरि प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले पनि लैंगिक हिंसा विरुद्धको अभियानको थालनी गरेको छ। आईतबार भएको कार्यक्रममलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री सुर्दशन बरालले हिंसा अन्त्यमा सरकारले काम गर्ने बताए। उनले अभियानले तत्कालै नतिजा नदिएपनि विस्तारै यसको फलस्वरुप हिंसा न्यूनिकरण हुने विश्वास व्यक्त गरे। उनले सामाजिक संरचनाका कारणले महिला माथि हिंसा भइरहेकाले यसको अन्त्यका लागि पुरुष पनि उत्तिकै जिम्मेबार हुनुपर्ने बताए। गैरसरकारी संस्था महासंघ प्रदेश न ५ का सचिव गोविन्द रेग्मीले हिंसा न्यूनिकरणमा सरकार नै जिम्मेवार हुनुपर्ने बताए।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतमले १६ दिनको अभियानले हिंसा रोक्न प्रभावकारी भूमिका खेल्ने भन्दै हिंसामा पर्नेले खुलेर हिंसा विरुद्ध लड्न सकेमा लैंगिक हिंसामा कमी आउने बताए। प्रदेश ५ मा सरकार सहित अन्य विभिन्न संघसंस्थाले पनि हिंसा विरुद्धको अभियान शुरुवात गरेका छन्। महिलामाथि हुने हिंसा न्यूनिकरणमा सरकार नै उदासिन भएकाले कानून कार्यान्वयनमा जोड दिइएको छ।

महिलाले भोगिरहेका बलात्कार, बेचबिखन, यौन शोषण, कुटपिट, हत्या, दाइजो, वेश्यावृत्ति, यातना जस्ता हिंसाको अवस्था डरलाग्दो छ। नेपालमा ८० प्रतिशत महिलाले कार्यस्थलमा यौन दुव्र्यवहार हुने गरेको छ। यसैगरि १५ देखी ४९ उमेर समुहका २२ प्रतिशत महिला शारिरिक हिंसा, २६ प्रतिशत श्रीमानबाट र ७ प्रतिशत महिला यौन हिंसामा परेको नेपाल जनसाख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्यांकमा उल्लेख छ।

 

प्रकाशित: ९ मंसिर २०७५ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App