समाज

युवा नेता हत्या प्रकरण : त्रासले गाउँपालिका, वडा कार्यालय र विद्यालय बन्द

बन्द रहेकाे गाउँपालिकाकाे कार्यालय। तस्बिर : किरणमान/नागरिक

कपिलवस्तु - गत शुक्रवार राति गोली हानी हत्या गरिएका जिल्लाको सुद्धोदन गाउँपालिका– ४ मोभिभारी का युवा नेता राजावाबु भनिने ३५ बर्षीय दिपेन्द्र चौधरीको हत्यामा ७ जना विरुद्ध किटानी जाहेरी परेको छ। मृतकका बुवा रामरक्षा चौधरीले आइतबार ईलाका प्रहरी कार्यालय पकडीमा किटानी जाहेरी दिएका हुन्।

दर्ता भएको जाहेरीमा तत्कालीन गाउँ विकास समिति प्रधान रमाकान्त पाण्डेयका छोरा र आफन्त गरी ४ जना तथा ३ जना छिमेकी रहेका प्रहरी नायब उपरीक्षक रबि रावलले बताए। त्यस मध्ये दिलिप नाउँ र गोली प्रहार गर्ने बन्टीका दाजु बुल्टु भन्ने अमित पाण्डेलाई घटनाको दिन राती नै नियन्त्रणमा लिइएको उनले बताए। घटनाका मुख्य अभियुक्त बन्टी भनिने अजित पाण्डे सहीत अन्य ५ जना भने फरार रहेको छन्। उनको समेत खोजी भईरहेको प्रहरीले जनाएको छ।

घटनाको अर्को दिन लवनी र मोतिभरी दिनभर नै तनावग्रस्त रह्यो। आइतबार भने कुनै अप्रिय घटना नभएको प्रहरी नायब उपरिक्षक रावलले बताए। लवनी र मोभिभारीमा व्यापक प्रहरी परिचालन गरिएको छ। घटनाको दोषीलार्इ पक्राउ नगरिएसम्म शव नजलाउने अडानमा रहेको मृतका परिवारले दोषीलाई चाडै पक्राउ गरी कानुनी दायरामा ल्याउने  प्रशासनकाे प्रतिबद्धता पछि मृतकका परिवार दाहसंस्कार गर्न सहमत भएका थिए।

गोली कान्डपछि सुद्धोदन गाउँपालिकाको कार्यालय अाइतबार बन्द गरिएको थियो। गाउँपालिकाका सबै वडा समेत अाइतबार बन्द रहे। भाडामा रहेको गाउँपालिकाको कार्यालय घटनाका मुख्य ओरापी अजित पाण्डेयको बुवा रमाकान्तको भएकाे र जनआक्रोस बढेकोले त्यहाँ पनि घटना हुन सक्ने आशंकामा गाउँपालिकाको कार्यालय बन्द गरिएको कर्मचारीहरु बताउछन्। गाउँपालिका शिक्षा ईकाईका प्रमुख टिकाराम पाैडेलले वडा नम्बर ३ र ४ का सबै विद्यालय बन्द रहेको र अन्य वडामा भने पढाई भएको दाबी गरे। घटना पछि आक्रमण हुने डरले रकामान्त पाण्डेयको पुरै परिवार बिस्थापित भएका छन्। शनिवार दिनभर लवनी र मोतिभारी तनावग्रसत रहेको थियो। आक्रोसित जनताले मोभिभारीमा रहेको पाण्डेयको घर, अन्नपात र त्यहाँ रहेको कम्पाईन मेशिन , ट्याक्टर र ४ वटा मोटरसाइकलमा शनिवार आगजनी गरेका थिए। लवनीमा रहेका पाण्डेयको प्रमिला पेट्रोल पम्प भने प्रहरीको कडा सुरक्षाले गर्दा बचेको छ। घटना पछि मोतिभारी गाउ शोकमग्न भएको छ।

प्रकाशित: ९ मंसिर २०७५ १३:१४ आइतबार

सुद्धोदन_गाउँपालि युवा_नेता_हत्या दिपेन्द्र_चौधरी