समाज

युरोपमा फैलँदै नेपालमा खुम्चँदै

धुलिखेल अस्पतालमा परम्परागत तेल मालिस तालिमअन्तर्गत स्वास्थ्यकर्मीलाई बेबी मसाज सिकाउँदै नाज्मा साइब्लर श्रेष्ठ। तस्बिरः नागरिक

बनेपा - नवजात शिशु र सुत्केरी आमालाई बलेको आगो अथवा घाममा राखेर दिनदिनै तेल घस्दै मालिस गर्ने परम्परा हाम्रो समाजमा नौलो होइन। हजुरआमाबाट आमा हुँदै प्रसार भइरहेको यो तरिकालाई नयाँ पुस्ताले भुल्न थालेपछि एक नेपाली चेली चिन्तित हुन थालेकी छन्।

नेवार समुदायमा ‘मस्तयत चिकं बुकेगु’ भनिने युरोपियन संस्करण ‘बेबी मसाज–नेवार’ पश्चिमा मुलुकमा फैलने क्रममा रहँदा हाम्रै मुलुकमा भने भुल्न थालिएकोमा मकवानपुरको भीमफेदीमा हुर्केर हाल स्विजरल्यान्डको जुरिकमा बस्दै आएकी नाज्मा साइब्लर श्रेष्ठले चिन्ता व्यक्त गरेकी हुन्।

युरोपियनहरूले शिशुको वृद्धि र विकासको अभिन्न अंगका रूपमा ग्रहण गरेको तेल मालिसलाई नेपालमा भने झन्झट मान्न थालेको पाएँ। यो परम्परागत तरिका प्रचारप्रसार र परिष्कृत तरिकाले उपयोगमा ल्याउनमा सबै जना लाग्नुपर्ने देखेकी छु।

‘युरोपियनहरूले शिशुको वृद्धि र विकासको अभिन्न अंगका रूपमा ग्रहण गरेको तेल मालिसलाई नेपालमा भने झन्झट मान्न थालेको पाएँ। यो परम्परागत तरिका प्रचारप्रसार र परिष्कृत तरिकाले उपयोगमा ल्याउनमा सबै जना लाग्नुपर्ने देखेकी छु’, श्रेष्ठले भनिन्।

सन् १९८० मा स्विस नागरिक डा. जियोभानी साइब्लरसँग दाम्पत्य जीवन सुरु गरेकी नाज्मालाई उनकी आमा हरिदेवीले तेल मालिस विधि सिकाइएकी थिइन्। नाज्माले आमासँग सिकेको ज्ञान र सीपलाई आफूमा सीमित राखिनन्, युरोपका विभिन्न मुलुकमा यस विधिबारे तालिम पनि दिइसकेकी छन्।

सन् १९८६ मा साइब्लर दम्पतीले स्थापना गरेको ‘भोकेस्नल स्कुल फर बेबी मसाज’ मा नाज्मासँग तेल मालिसको तरिका सिक्नेमा युरोपका मिडवाइफ, पेडियट्रिक नर्स, फिजियोथेरापिस्ट तथा नवशिशुका आमाबाबु पनि छन्। ‘स्विजरल्यान्डका नवशिशुमा लामो समयसम्म पेट दुख्ने, खाना नखाने र नपच्ने समस्या हुँदा उनीहरूका आमाबाबु रातभरि सुत्न पाउँदैन थिए। मैले नेवारी परम्पराअनुसार तेल मालिस विधिले शिशुको पेटमा तेल मालिस गर्दा दुखाइ निको हुन्छ भनें’, नाज्माले भनिन्।

सुरुमा नपत्याएका स्विसहरूले शिशुको पेट दुख्ने समस्या कम हुँदै पूरै निको हुन थालेपछि शिशुका आमाबाबुमात्रै नभई डाक्टर, नर्सहरूले समेत यो तरिका सिक्नमा रुचि देखाएका उनको भनाइ छ, ‘अहिले बेबी मसाज नेवार युरोपमा अत्यन्तै लोकप्रिय बनेको छ। हामीले चलाएको भोकेस्नल स्कुलमा औपचारिक तालिम लिनेहरूको संख्या दुई सय नाघेको छ, छोटो अवधिको तालिम लिने त धेरै भइसके,’ नाज्माले भनिन्।

सन् १९८३ मा पहिलो छोरी जन्मँदा नेपालबाट डाकिएकी आफ्नी आमा हरिदेवी श्रेष्ठले नातिनी जमुनामायालाई जुरिकस्थित अस्पतालमै तेल मालिस गरेका बखत नर्सहरूले अचम्म मानेको नाज्माको सम्झनामा ताजै छ। ‘केही बिरामी भएको छैन, किन शिशुलाई तेल मालिस गर्न थालेको भन्दै ती नर्सले रोकेकी थिइन्। यस घटनाले शिशुहरू बिरामी हुँदा या शिशुले अप्ठ्यारो मानेका बखत मात्रै स्विसहरूले मालिस गर्दा रहेछन् भन्ने लाग्यो र मैले उनीहरूलाई नेवारी तरिकाको तेल–मालिस सिकाइछाड्छु भन्ने प्रण गरें’, उनले भनिन्।

दुई दशकसम्म युरोपियनहरू लक्षित गर्दै तेल मालिस सिकाउन व्यस्त नाज्मा र उनका पति डा. जियोभानी सन् २००६ देखि भने विभिन्न समयमा नेपाल आउन थालेका छन्। नेपालबाटै गएको तेल मालिसलाई विभिन्न प्रामाणिक अनुसन्धानबाट परिष्कृत बनाएर नेपालका स्वास्थ्यकर्मी र तालिमप्राप्त सुँडेनीमार्फत आमालाई सिकाउन थालेका छन्।

‘यतिखेर सबै काम मेसिनले गर्न सम्भव भए पनि नवशिशुलाई मेसिनले मालिस गरेर हुँदैन। यसका लागि त्याग र सीप चाहिन्छ। मेरी आमाले सिकाएको र भक्तपुरका सुँडेनीले अपनाउँदै आएको परम्परागत तेल मालिसलाई विज्ञबाट अनुसन्धानसहित प्रमाणित गराएर युरोपका धेरै देशमा लोकप्रिय बनाएको छु। अब आफू जन्मेहुर्केको देशमा सिकाउने क्रममा छु’, नाज्माले भनिन्।

नेपालबाटै सुरु भएको तेल मालिस युरोपमा फैलँदो अवस्थामा रहे पनि नेपालमै भने बिस्तारै भुल्न थालिएको प्रति नाज्मा चिन्ता व्यक्त गर्छिन्। ‘९० को दशकसम्म नेपालमा नवजात शिशुलाई नेवारी तरिकाले अनिवार्य नै तेल मालिस गरिन्थ्यो। पछिल्लो समय नेपाली आमाले यसलाई झन्झट मान्न थालेको पाएकी छु’, उनले भनिन्।

नेवारी समुदायबाहेक अन्य समुदायमा पनि नवशिशुलगायत बाल्यकालमा हजुरआमा र आमाहरुले ‘तेते बिरबिर, बाबु बढ्बढ्’ भन्दै तेल मालिस गरेको तथ्यलाई नाज्माले यसरी प्रस्ट्याइन्, ‘परम्पराअनुसार तेल घस्यो भने आमाको शरीरमा पछि गएर बाथ जस्ता रोग लाग्दैनन् भन्ने मान्यता छ। बच्चाको स्वास्थ्यमा पनि राम्रो असर पर्ने र बच्चा स्वस्थ रूपमा विकास हुने धारणा छ। अब त बेबी मसाजले गर्ने फाइदाबारे युरोप र नेपालमा थुप्रै प्रामाणिक अनुसन्धान भइसकेका छन्’, उनले भनिन्।

सन् १९८६ देखि पति डा. जियोभानीसँग मिलेर जुरिकमा भोकेस्नल स्कुलमार्फत निरन्तर २० वर्षसम्म ‘बेबी मसाज नेवार’ सिकाएको साइब्लर दम्पतीले सन् २००६ देखि नेपाल आएर यहाँका स्वास्थ्यकर्मी (नर्स, सुँडेनी र मिडवाइफ) हरूलाई तालिम दिन थालेको हो। विभिन्न चरणमा सञ्चालन हुने तालिममा परम्परागत तेल मालिसद्वारा सुत्केरी आमा, नवजात शिशु र ससाना बालबालिकालाई पुग्ने फाइदाबारे सैद्धान्तिक र प्रयोगात्मक रूपमा सिकाइन्छ।

‘दुई वर्षअघि स्विस मिडवाइफलाई भक्तपुरसम्म ल्याएर त्यहाँका सुँडेनीहरूसँग अन्तरक्रिया गराएँ। हाम्रै भोकेस्नल स्कुल जुरिकमा धुलिखेल अस्पतालका नर्स र मिडवाइफलाई बेलाबखत तालिम दिइरहेकी छु। हामीले सिकाएको तरिका अस्पतालमा सुत्केरी हुने महिला र उनका परिवारलाई उनै नर्सहरूले सिकाउँदै आएका छन्’, सन् २०१८ को अन्तिम तालिम सञ्चालनका लागि धुलिखेल आएकी नाज्माले बताइन्।

परम्परागत तेल मालिसबारे सधैंभरि नै जानकारी भइरहोस् भनेर नाज्माले यससम्बन्धी वृत्तचित्र पनि प्रदर्शन गरेकी छन्। उनले खिचेका परम्परागत तेल मालिसका तस्बिरहरू अस्पतालका भित्तामा टाँगिएका छन्। घुम्ती प्रदर्शनीमार्फत पाटन म्युजियममा तीन महिनासम्म परम्परागत तेल मालिसको तस्बिर प्रदर्शनी गरेकी थिइन्।

‘धुलिखेल अस्पतालको पाँचखाल, बालुवास्थित हेल्थ सेन्टरमा यसै सातादेख तेल मालिसका तस्बिरहरू प्रदर्शनीमा राखेका छौं। हेल्थ सेन्टरमा आउने गर्भवती तथा आमाहरूले फोटो हेरेरै भए पनि केही जानकारी लिन सक्नुहोस् भनेर राखेका हौं। बढी जानकारी त्यहाँ कार्यरत नर्स र मिडवाइफहरूले दिने व्यवस्था मिलाइएको छ’, उनले भनिन्।

तेल मालिसले नवशिशुहरूको पेटसम्बन्धी समस्या घटेको र सुत्केरी अवस्थामा आमाको चिन्ता पनि निकै कम हुने गरेको धुलिखेल अस्पतालको स्त्रीरोग विशेषज्ञ डा. आभा श्रेष्ठको भनाइ छ, ‘सुत्केरी बेलामा तेल घस्दा आमा र बच्चाको सम्बन्ध घनिष्ठ हुन्छ। भर्खरै जन्मेको बच्चाले आमा र अरूसँग बोल्न नसके पनि मानसिक रूपमा आमासँग स्पर्शमार्फत सम्पर्क राख्न सक्ने भएकाले बच्चाको शारीरिक तथा मानसिक विकासमा धेरै फाइदा पु¥याउँछ’, उनले भनिन्।

तेलले आमाको छाला, मासुमा राम्रो असर पार्नुको साथै छाला सफा र चम्किलो पनि पार्छ। यसरी मालिस गर्दा विभिन्न हर्मोनको प्रतिक्रियाले दूध राम्रो आउने, शरीर तन्दुरुस्त हुने, बच्चाको शरीर सुगठित तथा फुर्तिलो हुने डा. श्रेष्ठको भनाइ छ। ‘शिशुले गर्भमा रहँदाको सामीप्यता तीन महिनासम्म भुल्न नसक्ने भएकाले आमासँग जति नजिक भयो त्यति नै राम्रो हुँदै जाने गर्छ। यही तथ्य बुझेरै परम्परादेखि नै तेल मालिस गरिएको हुनुपर्छ’, उनले भनिन्।

नेपालस्थित स्विस दूतावासको सहयोग र धुलिखेल अस्पतालको समन्वयमा चार महिना अवधिको चरणबद्ध तालिममा यसअघि नै काभ्रे, धादिङ, सिन्धुपाल्चोक र ललितपुरका २० जना स्वास्थ्यकर्मीले सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान र सीप पाइसकेका छन्। अन्तिम चरणको (आइतबार सम्पन्न हुने) तालिममा धुलिखेल, वीर, सिद्धि मेमोरियल, प्रसूतिगृह थापाथलीका साथै मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत फिजियोथेरापिस्ट, नर्स र मिडवाइफ गरी १६ जनाले नाज्माबाटै सैद्धान्तिक तथा प्रयोगात्मक तालिम पाएका छन्। ‘बेबी मसाज–नेवार तालिममा भाग लिन पाऊँ भनेर धेरै ब्युटिसियन तथा पार्लर सञ्चालकले अनुरोध गरिरहेका छन्। यो विशिष्ट किसिमको तालिम भएकाले स्वास्थ्यकर्मीबाहेक अन्यलाई दिइने गरिएको छैन’, नाज्माले भनिन्।

काठमाडौं विश्वविद्यालय अस्पताल धुलिखेल अस्पतालले स्वास्थ्यकर्मीका लागि सञ्चालन हुने विभिन्न तालिममा तेल मालिसबारे सामग्री समावेश गर्दै आएको छ। ‘अस्पतालका नर्स, समुदायमा कार्यरत तालिम प्राप्त सुँडेनी, महिला स्वास्थ्य स्वंयसेविका र आमा समूहलाई समेत यस्तै तालिममार्फत आवश्यक सीप र ज्ञान प्रदान गर्दै आएका छौं। यसलाई ब्याचलर अफ नर्सिङ (मिडवाइफरी) पाठ्यक्रममै समावेश गर्ने विषयमा अध्ययन एवं परामर्श भइरहेका छन्’, स्कुल अफ मेडिकल साइन्सेजका डिन डा. राजेन्द्र कोजूले भने।

प्रकाशित: ९ मंसिर २०७५ ०१:२५ आइतबार

बेबी_मसाज–नेवार नवजात_शिशु