समाज

महिलामाथि अभद्र व्यवहार गर्ने दुई सशस्त्र प्रहरी कारबाहीमा

वीरगन्ज - राजश्व गस्ती टोलीका सशस्त्र प्रहरीले महिलाहरुलाई लछारपछार गर्दै कुटपिट गरेको दृष्य तथा भिडियो सार्वजनिक भएपछि स्थानीय प्रशासनले घटनामा संलग्न प्रहरीलार्इ कारबाही गर्ने भएकाे छ।

घटनामा संलग्न सशस्त्र प्रहरी हवलदार महादेव पन्त र सशस्त्र प्रहरी सहायक हवल्दार केशवराज पन्त उपर कारवाही थालिएको सशस्त्र प्रहरी र स्थानीय प्रसाशनले जनाएको छ। भारतीय बजार रक्सोलबाट वीरगन्जतर्फ अबैध रुपमा भित्र्याएर समान ल्याउँदै गरेको भनी सशस्त्र प्रहरीले ती महिलालार्इ कपाल तान्दै लछारपछार पारेकाे तस्बिर तथा भिडियाे सार्वजनिक भएकाे थियाे। घटनाकाे समाजिक सञ्जालमा विराेध गरिएकाे छ।

‘सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म र अरु सुरक्षा इकाइको मिलोमतोमा संगठित तस्करी चलेको भन्ने आरोप ढाकछोप गर्न यस्ता महिला र अन्य सर्वसधारणको सामान सिमामा खोस्ने प्रवृत्ति अनुसार यो घटना भएको धेरैले टिप्पणी गरेका छन्।

वीरगन्ज भन्सारमा रहेको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक तिलकबहादुर खड्काले घटनामा संलग्न दुबै जनालाई कारबाहीको लागि सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय पर्सामा लगिएको बताए। ‘हदैसम्म कारबाही गर्ने भनी सशस्त्र प्रहरी महानिरीक्षक ज्युको आदेश छ,’ उनले भने, ‘कस्तो प्रकारको हुन्छ भन्ने सशस्त्र प्रहरीको कानुन महाशाखाको रायले तय हुन्छ।

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले समेत घटनामा संलग्नमाथि कारबाहीको प्रक्रिया सुरु भएको जानकारी दिए।

प्रकाशित: ७ मंसिर २०७५ १२:५६ शुक्रबार

सशस्त्र_प्रहरी