समाज

साधुटार आउनेको संख्या उत्तिकै (फोटो फिचर)

पाँचथरको साधुटारको दृश्य । तस्बिर : गिरिराज/नागरिक

पाँचथर – गत वर्षदेखि पाँचथरमा चर्चा बटुल्न सफल नयाँ गन्तव्य साधुटार आउनेहरूको संख्या यो सिजनमा पनि उत्तिकै देखिएको छ। ‘फोटो जेनीक’ ठाउँको समेत उपनाम पाएको यो ठाउँमा हिउँद लागेदेखि घुम्न आउनेको संख्यामा उलेख्यमात्रमा वृद्धि भएको छ।

पोखरीमा कुम्भकर्ण, कञ्चनजंगा हिमालको छायाँ टलक्क टल्किने तथा निलाम्ब्य पोखरी, घुर्मीला डाँडाहरू भएको यो ठाउँमा पूर्वका विभिन्न जिल्लाबाट घुम्न आउनेको संख्या उत्तिकै छ। काठमाडौं लगायतका विभिन्न ठाउँबाट आउने पाहुनालाई पनि यो ठाउँमा घुमाउन लैजाने चलन प्रारम्भ भएको छ। कालोपत्रे भएको मेची राजमार्गको सडकदेखि नजिकपर्ने तथा आउनका लागि सहज हुनाले पनि यो ठाउँ घुम्ने गन्तब्य बनेको छ।

‘विभिन्न ठाउँबाट यहाँ आउनेको संख्या उत्तिकै छ। पिकनिक खानेदेखि रमाइलो घुमघाम गर्न आउने गर्छन्। विदा तथा चाडपर्वको अवसरमा भीड लाग्ने गर्छ’ स्थानीय न्यूमन मुखियाले भने, ‘यो ठाँउको चर्चा उत्तिकै छ। छिमेकी जिल्ला र अन्यत्रबाट पनि आउने गरेका छन्। इलाम र पाँचथरका बढि घुम्न आएको पाइएको छ।’

यहाँबाट कञ्चनजंगा, कुम्भकर्ण हिमशृखला, मकालु, पाथीभरा देवी लगायको दृश्य देखिन्छ। लेकाली डाँडा भएकाले पारीलो घाम लाग्दा आनन्द बोध हुन्छ। पोखरीको अगाडि रहेको ढुंगामा बसेर खिचिएका तस्बिरहरू प्रशस्तमात्रामा सामाजिक सञ्जालमा राखिएका छन्। 

स्मरणीय के छ भने यो ठाउँ तस्बिरले नै चर्चामा ल्याइदिएको हो। मेची राजमार्गको पौवाभञ्याङबाट यो ठाउँ पुग्न आधि घण्टा पैदल हिँडनु पर्छ। यो ठाउँ चर्चित भएपछि छेउमा घरहरू बन्न थालेका छन्। नीजि जग्गा भएकाले सरकारी लगानी हुँन नसक्दा थप पूर्वाधार बन्न सकेका छैनन्।

साधुटार पाँचथर पर्यटक