समाज

चितवनमा १३८ नयाँ एचआइभी संक्रमित

चितवन – सन् २०१८ को हालसम्म चितवनमा १३८ जना एचआइभी संक्रमित थपिएका छन्। भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकियर फाउण्डेशन (एएचएफ) नेपालले सङ्कलन गरेको तथ्याङ्कअनुसार यो वर्ष फेला परेका संक्रमितमध्ये ७० पुरुष, ६३ महिला र पाँच बालबालिका रहेका छन्।

फाउण्डेशनका क्षेत्रीय कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार यस वर्ष संक्रमित १० जनाको मृत्यु भएको छ। जसमध्ये आठ जना पुरुष र दुई जना महिला रहेका छन्। हाल सो कार्यालयबाट १ हजार ६५९ जनाले दर्ता भएका छन्। तीमध्ये ८५३ जनाले एआरभी औषधि खाइरहेको उनले बताए। जसमा ३७३ पुरुष, ४०८ महिला र ६९ बालबालिका रहेका छन्। सन् २०१७ मा १३५ जना नयाँ संक्रमित थपिएका थिए।

सन् २००७ मा स्थापना भएको सेन्टरमा यस वर्ष ५६७ जनाको भाइरल लोड परीक्षण गरिएको छ भने ६३७ जनाको सिडिफोर गणना गरिएको सापकोटाले बताए। कार्यालयले यस वर्ष ८६ हजार ६१२ वटा कण्डम वितरण गरेको जनाएको छ। सेन्टरले यस वर्ष अस्पताल र समुदायमा १३ हजार ३७२ जनाको एचआइभी परीक्षण गरेको थियो।

नेपालमा ३१ हजार २० एचआइभी संक्रमित रहेको अनुमान रहेको छ। हालसम्ममा १९ हजार ७०२ जना सम्पर्कमा रहेको सेन्टरले जनाएको छ। जसमध्ये १५ हजार २६० ले देशका विभिन्न ठाउँबाट औषधि प्रयोग गरिरहेका छन्।  (रासस)
 

प्रकाशित: ७ मंसिर २०७५ ०६:५६ शुक्रबार

चितवन एचआइभी_संक्रमित