समाज

झोलुङ्गे पुलले बढ्याे पर्यटक अागमन

अग्ला पुल हेर्न पर्यटकको घुइँचो

पर्वत– जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ। अग्ला पुलबारे स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै गएपछि पुल हेर्न आउने पर्यटकको संख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गएको हो।

हिमालपारीको जिल्ला मुस्ताङ घुम्न जाने पर्यटक तथा अन्नपूर्ण पदमार्गमा जाने बाह्य पर्यटकको रोजाइमा यहाँका अग्ला पुल पर्न थालेका छन्। पुल हेर्न र तर्नका लागि यस वर्ष बाह्य पर्यटक पनि बाक्लै रुपमा आउन थालेको स्थानीय बताउँछन्। 

मुस्ताङ जान हिँडेका तथा मुस्ताङबाट फर्किने, कालीगण्डकीमा जलयात्रा गर्न आउने र राउण्ड अन्नपूर्ण पदमार्गमा जाने पर्यटक एक दिन समय लम्ब्याएर अग्ला पुल हेर्न आउन थालेको पर्यटन व्यावसायी बताउँछन्। यस वर्ष झण्डै पाँच सयभन्दा बढी बाह्य पर्यटक अग्ला पुल हेर्न आएको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव पौडेलले बताए। ‘जिल्लामा रहेका मुलुकका तीन अग्ला र लामा पुल पर्यटकको रोजाइमा पर्न थालेका छन्,’ उनले भने। 

मनाङ र मुस्ताङ पुगेर फर्किएका झण्डै ५० अष्ट्रेलियन नागरिकले सोमबार पुल अवलोकन गरेका थिए। अग्ला पुलमा मोटरसाइकल समेत सञ्चालन गर्न पाइने भएपछि पर्यटकले मोटरसाइकल चढेर पुलमा ओहरदोहर गरी आनन्द लिने गरेका छन्।‘मुस्ताङबाट फर्किदा अग्ला पुल हेर्ने पर्यटकले इच्छा राख्छन्,’ पर्यटक पथप्रदर्शक रमेश मोक्तानले भने, ‘पुल देखेपछि पर्यटक अचम्मित र आनन्दित हुने गरेका छन्।’ 

पर्वत आसपासका जिल्लाका बासिन्दाले बिदा मनाउन झोलुङ्गे पुल आउने गरेको पौडेलले बताए। केही वर्षयता शैक्षिक भ्रमणको गन्तव्य नै अग्ला र लामा पुल, यान्त्रिक पुल र जिल्लामा रहेका दुई लामा गुफा भएका छन्। गुप्तेश्वर गुफा, अलपेश्वर गुफा र कुश्मा–बलेवा यान्त्रिक पुल पर्यटकको रोजाइ पर्न थालेको छ। अग्ला पुल भएका स्थल बिदाको दिन भरिभराउ हुन्छन्।
 कुश्मा–ज्ञादी पुल आठ वर्षअघि सञ्चालनमा आएको हो। कुश्मा–कैया पुल चार वर्ष अघि तथा कुश्मा–मुडिकुवा पुल गत मङ्सिरदेखि सञ्चालनमा आएको हो। अहिले यी तीनै अग्ला पुल अवलोकन गर्न दैनिक पाँच हजारभन्दा बढी नागरिक आउने गरेका छन्।‘बिदाको दिन सात हजारभन्दा बढी जनाले अवलोकन गर्छन,’ पौडेलले भने। 

कालीगण्डकी, मोदीखोला र माछापुच्छ«ेसहितका आकर्षक हिमालको समेत दृश्यावलोकनका कारण पनि पर्यटक पुल अवलोकन गर्न आउने गरेका छन्।सर्वसाधारणलाई आवतजावत गर्न सहजताका लागि निर्माण गरिए पनि अवलोकनका लागि मात्र पर्यटक आउँदा पुल वरपरको व्यापार व्यवसाय फस्टाएको छ। अहिले तीनवटै पुल वरपर होटल तथा रेष्टुराँ सञ्चालनमा छन्। पुल निर्माणपछि त्यसक्षेत्रको जग्गाको मूल्यसमेत बढेको छ। होटलमा बास बस्न आउनेसमेत वृद्धि भएको स्थानीय होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए।  

कुश्मा–ज्ञादी पुलको उचाइ १३५ मिटर तथा लम्बाइ ३४४ मिटर छ। कुश्मा–कैया पुलको उचाइ १५५ मिटर तथा लम्बाइ ३५९ मिटर रहेको छ। सो पुलले दक्षिणी भेगका फलेवास नगरपालिका, महाशीला गाउँपालिका, पैयूँ गाउँपालिका र बिहादी गाउँपालिकाका बासिन्दालाई सदरमुकामसँग जोडेको छ। कुश्मा कैया पुलबाट बागलुङको दक्षिण भेगका बासिन्दा लाभान्वित भएका छन्। उनीहरुलाई बजारसम्मको पहुँच सहज भएको छ। रासस

प्रकाशित: ४ मंसिर २०७५ ०५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App