समाज

शरीर जोडिएका जुम्ल्याहा बालिका जन्मिए

प्रदेश अस्पतालको एनआइसियू कक्षमा शरीर जोडिएका जुम्ल्याहा बालिका। तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत - कालिकोटको राष्कोट नगरपालिका–५ स्यूनाकी ललिता बुढाले शरीर जोडिएका दुई बालिकालाई जन्म दिएकी छन्। सुर्खेत स्थित प्रदेश अस्पतालमा आइतबार अप्रेशन गरेर शरीर जोडिएका दुई बालिकालाई निकालिएको थियो। दुई बालिकाको तौल तीन किलो छ सय ग्राम छ। बालिका र आमा स्वस्थ छन्। शरीर जोडिएका बालिकालाई एनआइसियुमा राखेर उपचार भइरहेको छ ।

बालरोग विशेषज्ञ डा. नवराज केसीका अनुसार बालिकाको छाती र पेटको माथिल्लो भाग जोडिएको छ। ‘भिडियो एक्सरेपछि मात्रै कलेजो र मुटु जोडिएको छ/छैन भन्ने बारेमा जानकारी हुन्छ’ उनले भने, ‘बाहिरबाट हेर्दा छाती र पेटको माथिल्लो भाग जोडिएको छ।’

कालिकोट जिल्ला अस्पतालले रेफर गरेपछि बिर्खबहादुरले श्रीमती ललितालाई आइतबार प्रदेश अस्पतालमा पुर्‍याएका थिए। अस्पतालमा भर्ना भएलगत्तै डा. राजीव शाह नेतृत्वको टोलीले अप्रेशन गरेको थियो। बाल रोग विशेषज्ञ डा. केसीका अनुसार छाती र पेटको माग जोडिएको यस्तो घटना अस्पतालमा पहिलो हो। मेडिकलको भाषामा यस्तो समस्यालाई थोराको उल्फालो पेगस भनिन्छ। २८ वर्षीया ललिताले यसअघि नै दुई छोरीलाई जन्म दिइसकेकी छन्।

कालिकोट शरीर_जोडिएका जुम्ल्याहा