समाज

धरौटी बुझाउन नसक्दा कारागार चलान

उदयपुर - उदयपुरका एक युवक धराैटी बुझाउन नसकेपछि कारागर चलान भएका छन्। बलात्कार प्रयास गरेको अभियोगमा विचाराधिन मुद्धामा धरौटी राख्न नसक्दा जिल्लाको रौतामाई गाउँपालिका ३ का २८ वर्षीय डम्बरबहादुर राई कारागार चलान भएका हुन्।

जिल्ला न्यायाधीश तीर्थराज केसीको अाइतबार बसेको एकल इजलासले अभियुक्त राईलाई ६० हजार धरौटी लिई रिहा गर्ने आदेश दिएको थियो। तर, धरौटी वापतको रकम बुझाउन नसकेपछि उनलाई सोमबार कारागार चलान गरिएको अदालतले जनाएको छ। ‘अदालतले धरौटी लिएर रिहा गर्नू, बुझाउन नसके कारागार चलान गर्नू’ भन्ने आदेश दिएको थियो‘ अदालतका स्रेस्तेदार राजकुमार आचार्यले भने, ‘आदेश अनुसार धरौटी माग्दा बुझाउन नसकेपछि कारागार पठाइएको छ।’

रार्इले गत असाेज ३ गते ९ वर्षीय बालिकालार्इ घरमा सुतिरहेकाे अवस्थामा बलात्कार प्रयास गरेका थिए। बालिका चिच्याएपछि उनी भागेका थिए। पीडित बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा गत असोज ६ गते जाहेरी दिएका थिए। प्रहरीले उनलाई असोज ७ गते पक्राउ गरी सदरमुकाम ल्याएर कानुनी कारबाही अघि बढाएको थियो।

प्रकाशित: ३ मंसिर २०७५ ०७:५३ सोमबार

बलात्कार_प्रयास कारागार_चलान