समाज

तिब्बत जोड्ने सडक निर्माण सुस्त : १० वर्षमा ४० किमि

दार्चुला–तिंकर सडक खण्ड । तस्बिर : पुष्पराज/नागरिक

दार्चुला र बझाङबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सडक निर्माण सुस्त गतिमा भइरहेको छ । आर्थिक वर्ष २०६५/२०६६ मा चार वर्षमै निर्माण सक्नेगरी सुरु गरेको दार्चुला सदरमुकाम खलंगादेखि तिंकर भन्ज्याङसम्मको एक सय ३५ किलोमिटर सडक खण्ड निर्माण वर्षौंदेखि कछुवा गतिमै छ । अहिलेसम्म यो सडकको ४० किलोमिटर ट्र्याक खोलिएको छ।

त्यस्तै २०६८ सालदेखि नेपाल सरकारको सडक विभागले चाँडै सक्नेगरी निर्माण थालेको बझाङ सदरमुकाम चैनपुरदेखि उरै भन्ज्याङ नाका (ताक्लाकोट) सम्मको एक सय १७ किलोमिटर सडक खण्ड पनि सुस्तै छ । २०६८ अघि ड्रिलिपले सदरमुकाम चैनपुरदेखि रुपातोलासम्मको १८ किलोमिटर ट्र्याक खोलिसके पनि त्यसपछि जिम्मा लिएको सडक विभागले आठ वर्षमा रुपातोलादेखि क्रिकिट्टेसम्म १२ किलोमिटर मात्रै ट्र्याक खोलेको छ।

ड्रिलिपले हात झिकेपछि सडक विभागले जिम्मा लिएको सात वर्ष भइसकेको छ । यस अवधिमा सरकारले १२ किलोमिटर मात्रै ट्र्याक खोलेको तलकोट गाउँपालिकाकी उपाध्यक्ष धनलक्ष्मी खत्रीले बताइन् । उनले भनिन्, ‘कहिले बजेट अभाव त कहिले ठेकेदारको मनपरीका कारण सडक निर्माण सुस्त गतिमा छ ।’ आफूले पटकपटक ठेकेदार कम्पनी र सडक योजनासँग दु्रत गतिमा काम गर्न आग्रह गरे पनि नसुनेझैं गरेको उनले बताइन्।

‘सुस्त गतिमा ट्र्याक खोलिँदा आफ्नै पालामा समृद्धि हेर्न नपाइने भयो,’ जयपृथ्वी नगरपालिका–१ का भक्तबहादुर खड्काले भने, ‘सुस्त गतिको कामले विकास लम्बिने पक्का छ ।’ उनले सरकारले पर्याप्त बजेट नदिँदा कामले गति लिन नसकेको बताए । उनले भने, ‘दुर्गमलाई सरकारले सौतेलो व्यवहार गरेकै कारण चैनपुर–ताक्लाकोट सडक खण्डका लागि पर्याप्त बजेट आएन।’

सात वर्षमा १२ किलोमिटर मात्रै ट्र्याक खोल्नु लज्जास्पद भएको स्थानीय श्याम नेपाली बताउँछन् । उनले भने, ‘न त सरकारले यो सडकलाई प्राथमिकतामा राखेर पर्याप्त बजेट दियो, न त ठेकेदार कम्पनीले सम्झौताअनुसार काम गरे ।’ ठेकेदार कम्पनीले सम्झौताअनुसार काम गरेको भए सात वर्षमा १२ किलोमिटरभन्दा बढी ट्र्याक खोलिसकिने उनले बताए।

सेती राजमार्ग (उत्तरखण्ड) चैनपुर–ताक्लाकोट सडक योजना बझाङका इन्जिनियर दुर्गाप्रसादले सरकारले पर्याप्त बजेट नछुट्याइदिँदा सात वर्षमा १२ किलोमिटर मात्रै ट्र्याक खोल्न सकिएको बताए । ‘ड्रिलिपले खोलेको १८ किलोमिटरपछि हामीले सात वर्षमा १२ किलोमिटर मात्रै ट्र्याक खोल्न सक्यौं,’ उनले भने, ‘पर्याप्त बजेट अभावले यस्तो समस्या आएको हो ।’ चालु आर्थिक वर्षका लागि भने नेपाल सरकारले बझाङ–ताक्लाकोट सडक खण्डका लागि २० करोड बजेट छुट्ट्याएको उनले बताए । ‘यो वर्ष भने सरकारले २० करोड बजेट छुट्ट्याएको छ,’ उनले भने, ‘मंसिर पहिलो सातादेखि काम थालेर चालु आर्थिक वर्षमा १० किलोमिटर नयाँ ट्र्याक खोल्ने योजना छ।’

दार्चुला सदरमुकाम खलंगादेखि तिंकर जोड्ने एक सय ३५ किलोमिटर सडक खण्डको निर्माण कार्य २०६५ सालदेखि सुरु भए पनि अहिलेसम्म खलंगादेखि सुन्सेरासम्मको ४० किलोमिटर ट्र्याक खोलिएको छ । ठाउँठाउँमा भीर रहेका कारण यातायातका साधन चल्न सकेका छैनन् । २०७० को महाकाली बाढीपछि खलंगा–तिंकर सडक खण्डमा काम हुन सकेन । चाँडै निर्माण सक्नेगरी सरकारले योजना बनाए पनि महाकाली बाढीको कारण देखाउँदै ट्र्याक खोल्ने कामसमेत ठप्प थियो।

‘यस वर्षदेखि काम अगाडि बढाउने सुन्नमा आएको छ,’ स्थानीय करनसिंह धामीले भने, ‘विभिन्न कारण देखाउँदै काम अगाडि नबढ्दा तिब्बती बजारसँगको कारोबार गर्ने उत्तरी क्षेत्रका नागरिकको सपना सपनामै रहने भयो ।’ सदरमुकाम खलंगा नजिकैको राताकाठा भीरले गर्दा ट्र्याक खोलिएको ४० किलोमिटरसम्म पनि गाडी गुड्न सकेका छैनन् । ‘राताकाठा भीरले गर्दा हामीले ट्र्याक खुलेको सडकमै गाडी चढेर सदरमुकाम आउजाउ गर्नै पाएका छैनाैं,’ दुहु–२ हिकिलाकी उमा धामीले भनिन्, ‘बजार रहेको सदरमुकामसम्म हिँडेरै आउनुपर्ने बाध्यता छ ।’ सडकको ट्र्याक खोलिए पनि गाडी गुड्न नमिल्ने भीरका कारण त्यस क्षेत्रका नागरिकलाई कठिन भइरहेको उनले बताइन् । ‘सडक चाँडै बन्ला र सुख फिर्ला सोचेका थियौं,’ उनले भनिन्, ‘दुःख उस्तै रहे ।’ त्यही सडकलाई देखाएर नेताले चुनाव जिते पनि अहिलेसम्म ट्र्याक खुलेको (४० किलोमिटर) भागमा गाडी गुडाउन सक्ने अवस्था नरहेको उनले बताइन्।

२०७० सालको महाकाली बाढीपछि निर्माण ठप्प रहेको सडक निर्माण अब तत्काल सुरु गरिने दार्चुला–तिंकर सडक आयोजनाका इन्जिनियर दिनेश रैखोलाले बताए । उनले भने, ‘विस्फोटक पदार्थ नपाउँदा ट्र्याक खोल्ने र सडक चक्ल्याउने काम हुन सकेको थिएन, अब चाँडै हुन्छ ।’ प्रक्रिया पुर्याउन नसक्दा अहिलेसम्म सडक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । सेनाले उपलब्ध गराउने मात्राको विस्फोटक पदार्थ खर्चालु हुने भन्दै कार्यालयले ल्याउन नमान्ने र सडक कार्यालयले माग गरेको मात्रामा नेपाली सेनाले विस्फोटक पदार्थ उपलब्ध गराउन नसक्दा दार्चुला–तिंकर सडकले विस्फोटक पदार्थ अभाव खेप्दै आएको थियो । कार्यालयले हालै कालंगा हाइड्रोपावर कम्पनीसँग विस्फोटक पदार्थ सापटी लिएर नेपाली सेनाको निगरानीमा विस्फोट गराउने सहमति गरेको छ।

सुरुमा यो सडकमा ठेकेदारको कमजोरीका कारण र पछिल्लो समय निर्माण सामग्री अभावले सुस्त बनेको हो । सडकको अधिकांश ठाउँमा कडा चट्टान तोडेर ट्र्याक खोल्नुपर्ने भएकाले पनि प्रगति नदेखिएको दार्चुला–तिंकर सडक आयोजना कार्यालयले बतायो । भारतीय नाकाबन्दी, निर्माण सामग्री अभाव, इन्धन अभाव र एकवर्षे ठेक्का प्रणालीजस्ता कारणले सडक निर्माणमा ढिलाइ भएको सडक योजना कार्यालयको दाबी छ । तर सरकारी उदासीनताले सडक निर्माण कार्य अगाडि बढ्न ढिलो भएको स्थानीयको आरोप छ।

सरकार र नेताहरूको इच्छाशक्ति नभएकै कारण चीन जोड्ने सडक वर्षाैंदेखि सुस्त गतिमा निर्माण भइरहेको कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोपाल हमालले बताए । उनले भने, ‘नेताहरूले व्यक्ति बनाउन लाग्नु र ठाउँ बनाउनतर्फ नलाग्नुले यो अवस्था आएको हो ।’ सडक चाँडै बन्न थालेपछि बसाइँ सराइ पनि रोकिने क्रम बढ्ने उनी बताउँछन् । ‘पहाडमा विकास निर्माणका गतिविधि सुस्त हुँदा बसाइँ सराइ तराईमा बढ्दो छ,’ उनले भने, ‘त्यो रोक्न पनि बझाङ–ताक्लाकोट र दार्चुला–तिंकर सडकको काम तीव्र गतिमा बढाउनु जरुरी छ।’

(पुष्पराज जोशी/कैलाली,जगत खड्का/बझाङ,प्रेम चुनारा/दार्चुला)

प्रकाशित: ३ मंसिर २०७५ ००:४८ सोमबार

दार्चुला_बझाङ तिब्बत सडक सुस्त