समाज

खोटाङको भित्री सडकमा पहिलोपटक कालोपत्रे गरिँदै

स्काभेटर चलाएर दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको शिलान्यास गर्दै प्रतिनिधिसभा सदस्य विशाल भट्टराई । तस्बिर : दमन/नागरिक

खोटाङ – खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेका लागि शिलान्यास गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार(करसहित) रुपैयाँ लगानीमा कालोपत्रे गर्न लागिएको उक्त सडकमा शनिबार स्काभेटर चलाएर प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गरेका हुन् । दिक्तेलको अस्पताल चोकमा बैद्धिक विधिअनुसार कालेपत्रेको शिलान्यास गरिएको हो।

अस्पताल चोकबाट खानीडाँडा विमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रे आगामी १८ महिनाभित्र पूरा हुने खोटाङस्थित आवास व्यवस्थापन तथा पूर्वाधारको कार्यालयका प्रमुख सागर आचार्यले जानकारी दिए।

जिल्लाका आन्तरिक सडकमध्ये दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रे गर्न लागिएको यो पहिलो पटक हो । नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसी, साइड ड्रेन, ग्राभेलसहित ६.२५ मिटर चौडा पारिने सडकको ३.७५ मिटर क्षेत्र पिच गर्ने गरी याक्तुहाङ साप सिरुवा जेभीले ठेक्का लिएको छ । दिक्तेल नगरपालिकाबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानी जोडिने दिक्तेल–रेग्मीटार सडक दिक्तेल र उदयपुरको गाईघाट जोड्ने सबैभन्दा छोटो मार्ग बन्ने दाबी गरिएको छ । कालोपत्रे गर्न लागिएको सडकको सर्भे नेपाल सकार र निर्माण कम्पनीको संयुक्त टोलीले गत असोज १५ गतेदेखि गरेको थियो।

गत असोज १ गते सम्झौता भएको सडकको कालोपत्रे २०७६ चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने आवास व्यवस्थापन तथा पूर्वाधारको कार्यालयले जनाएको छ । दिक्तेलबाट आहालेसम्म र राजापानीतर्फबाट केही भाग ट्रयाक खोलिए पनि बीचमा ट्रयाक जोडिन बाँकी छ । ट्रयाक खोल्न बाँकी भाग नगरपालिकासँगको सहकार्यमा खोल्ने र बाँकी खण्डमा कालोपत्रे गरिने कार्यालय प्रमुख आचार्यले बताए।

‘अहिलेलाई दिक्तेलबाट आहालेसम्म मात्र कालोपत्रे हुन्छ,’ उनले भने,’ नगरपालिकासँगको सहकार्यमा बाँकी खण्डको ट्रयाक खोल्ने काम हुन्छ र डिपिआर तयार पारेर कालोपत्रे गरिन्छ ।’ हालको दिक्तेल–फोक्सिङटार सडकभन्दा छोटो हुने भएकाले भविष्यमा दिक्तेल–रेग्मीटार सडक पूर्वीतराई जान–आउन बढी प्रयोग आउने खोटाङ जिल्ला समन्वय समितिका प्रमुख बबी चामलिङले बताए।

सडकले मनमाया राई खानीडाँडा विमानस्थललाई पनि छुने भएकाले दिक्तेलबाट विमानस्थल आवत–जावत गर्ने स्थानीय बासिन्दा लाभान्वित हुने छन् । सडक कालोपत्रेका लागि प्रारम्भिक चरणको काम तत्काल सुरु गरेर तोकिएको अवधिमा पूरा गर्ने याक्तुहाङ साप सिरुवा जेभीका निर्देशक कल्याण दाहालले बताए।

प्रकाशित: २ मंसिर २०७५ ०४:५४ आइतबार

सडक कालोपत्रे खोटाङ